म्याग्दीमा एक बर्षको अवधिमै ४८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षण तथा चेकजाँच गर्न स्वास्थ्य संस्थामा आएका एक बालक सहित ४८ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गत र चालु आर्थिक बर्षमा जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा क्षयरोगका बिरामी रहेका छन् ।

बेनी नगरमा गत आवमा २६ जना, चालु आवमा १७ जनाामा क्षयरोग देखिएको छ । त्यस्तै मंगलामा ९ जना, मालिका ९ जना, धवलागिरी ५ जना र रघुगंगा गाउँपालिकामा ३ जनामा क्षयरोग देखिएका छन् । स्वास्थ्य कार्यालयका क्षयारोग फोकलपर्सन गणेश सुबेदीले परीक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने बताउनुभयो ।

ग्रामिण क्षेत्रमा एक क्षयरोगीबाट करिब १५ जना र सहरी क्षेत्रमा २० जनासम्म जोखिममा पर्ने बताउनुभयो । रोगको पहिचानपछि नियमित औषधी सेवन गरेमा ९० प्रतिशतको उपचार सम्भव रहेको सुबेदीको भनाई छ । म्याग्दीमा क्षयरोगका बिरामीको एचआइभी एड्स परीक्षण र एचआइभीका बिरामीको क्षयरोग परीक्षण गर्दा एकजना एचआइभी संक्रमति समेत भेटिएको थियो ।

गएको साउन देखि फागुन महिनासम्म भेटिएका नयाँ ३० रोगीमा पुरुष र महिला बराबर रहेकोमा २४ बिरामीको फोक्सोमा समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा गरिएको प्रिभ्यालेन्स सर्वेमा म्याग्दी जिल्लाभित्र क्षयरोगीको संख्या २ सय ७२ हुनुपर्ने अनुमान गरिएको छ ।

म्याग्दीमा बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, ताकम, भुरुङ तातोपानी, शिख स्वास्थ्य चौकीमा खकार जाँचका लागि ल्याव रहेको छ । नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रुक्मिनी अधिकारीले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलक सहित विभिन्न माध्यमबाट बिरामीको पहिचानमा जोड दिनुभयो ।

Leave a Reply