गैर आवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशनबाट अध्यक्षमा म्याग्दीका विनोद कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । संघका प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको दशौं महाधिवेशनबाट बेनी नगरपालिका–५,बगुवाखोला निवासी कुँवर अध्यक्ष बन्नुभएको हो । लामो समयदेखि एनआरएनएको विभिन्न पदमा रहेर काम गर्नुभएका कुँवरलाई विश्वभरबाट आएका प्रतिनिधिहरुको सर्वसम्मतिले अध्यक्ष बनाएको छ ।

अध्यक्ष कुँवर दक्षिण कोरियाका सफल नेपाली ब्यवसायीसँगै नेपालमा समेत कोरियाली ब्राण्डहरुलाई स्थापित गर्ने तथा म्याग्दीको पश्चिम क्षेत्रमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको अध्यक्ष समेत हुनुहुन्छ ।

अध्यक्षमा निर्वाचित भएपछि कुँवरले अप्ठेरो परिस्थितिमा प्राप्ती जिम्मेबारीलाई सहजै स्वीकार गरेको बताउनुभयो।‘सबै एकजुट भएर अगाडि बढ्नुपर्छ,‘एनआरएनएको अभियानलाई कमजोर नभई बलियो बनाउन सक्रिय छौ’ अध्यक्ष कुँवरले भन्नुभयो । दशौं महाधिवेशनमा प्रमुख संरक्षक शेष घलेको अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यकता रहेको समेत बताउनुभयो ।

महाधिवेशनको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको थियो । अर्थमन्त्री शर्मालेविदेशमा बस्ने नेपालीहरु जन्मभूमिका लागि गम्भीर हुनपर्ने बताउनुभयो ।गैर आवासीय नेपालीबाट नेपालले ठूलो आसा गरेको त्यसै अनुसार सरकारले पनि नीतिहरुमा परिवर्तन गर्दै गएको बताउनुभयो ।

विदेशमा बस्ने नेपालीलाई नेपालमै नआई डलर खाता खोल्न र निकाल्न सक्नेगरी व्यवस्था गरिएको समेत बताउनुभयो । दशौं महाधिवेशनमा प्रमुख संरक्षक घलेको स्वागत तथा महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यता एनआरएनए संस्थापन पक्षले भने अर्को महाधिवेशनको तयारीमा जुटेको छ ।

Leave a Reply