म्याग्दी चेम्बर अफ कमर्शले सदरमुकाम बेनीबजारको सबै क्षेत्रमा एकतर्फी यातायातको नियम लागु हुनुपर्ने माग गरेको छ । म्याग्दी सदरमुकाम बेनीमा लागू गरिएको एकतर्फी यातायात सञ्चालनलाई निरन्तरता आवश्यकता रहेकाले साँधुरो सडक भएका स्थानमा समेत एकतर्फी आवश्यकता रहेको बताएको हो ।

म्याग्दी चेम्बर अफ कमर्शले बुधबार एक विज्ञप्ती निकाल्दै एकतर्फी यातायात सञ्चालन गर्ने नियमलाई बजार क्षेत्रमा कार्यान्वयनका क्रममा छुटेका टोल र चोकलाई समेत थपिनुपर्ने जनाएको छ । ‘एकतर्फी यातायात नियमको समर्थन गछौं,‘अझै ब्यवस्थित हुन सकेको छैन्,यहाँ सवारीसाधनमात्रै नभई पैदलयात्रीको सुरक्षाका लागि समेत यो नियम आवश्यक छ’ अध्यक्ष भरत रकालले भने ।

बजारमा आंशिक क्षेत्रमा लागु भएको केही क्षेत्रमा ब्यापार र केही क्षेत्रमा चहलपहल कम भएकाले बजारभरी नै लागु गर्नुुपर्ने अध्यक्ष रकालको भनाई छ । ‘केही सिमित ब्यापारीलाई लाभ हुने गरी बजार बाहिर संरचना बनाइएको छ,‘यहाँ समस्या समाधानभन्दा पनि अर्के तर्फ ध्यान दिने प्रयास भएको देखिन्छ’ अध्यक्ष रकालले भने ।

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, बिरेन्द्रचोक, हुलाकचोक, न्युरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने सडक प्रयोग गर्नेगरी एकतर्फी यातायात सञ्चालन गरिएकोमा यसलाई बजारभित्र छुटेका सबै चोक र गल्लीलाई समेट्नुपर्नेमा म्याग्दी चेम्बर अफ कमर्शको माग रहेको छ।

बजारमा यसअगाडी म्याग्दी उद्योग बाणिज्य संघका पदाधीकारी, बेनीको न्युरोडका टोल सुधार समिति र केही व्यवसायीहरुले दबाब दिन थालेपछि विवाद बढेको थियो ।

प्रशासनको एक्जिट पोल..
सदरमुकाम बेनीबजारभित्र एकतर्फी यातायातको नियम लागु भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले आफ्नो आधिकारिक पेजमा अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका लागि एक्जिट पोल राखेर सर्वसाधारणको धारणा मागेको छ । बेनी नगरले स्थगित गर्ने र जिल्ला प्रहरी कार्यालयले कार्यान्वयनमा अडान राखेपछिको अवस्थामा सर्वसाधारणको राय लिइएको प्रशासनले जनाएको छ ।

प्रजिअ चिरञ्जीवि रानाले सर्वसाधारणको राय लिनु गलत नभएको बताए । ‘एकतर्फीलाई सहज बनाउने वा स्थगित गर्ने भन्नेमा अझै एकमत देखिएको छैन,‘धेरैले यसलाई निरन्तरता दिनुपर्छ भन्नुभएको छ’ प्रजिअ रानाले भने ।

उनले एकतर्फीका बारेमा नागरिकको धारणा कार्यान्वयनका लागि भन्दा पनि बुझ्ने प्रयास मात्रै भएको बताए । जिल्ला प्रशासन कार्यालयले नै एक्जिट पोलको साहरा लिन खोजेपछि यो पूर्ण रुपमा कार्यान्वयनमा प्रशासन नै अलमलमा रहेको अनुमान गरिएको छ ।

प्रशासनको एक्जिट पोलमा यो समाचार तयार पर्दासम्म ४ सय ९५ प्रतिक्रियामा अधिकांसले एकतर्फीको समर्थन जनाएपनि धेरैले सुझाव समेत दिएका छन् ।

एकतर्फी यातायातलाई मात्रै ध्यान दिएको प्रशासन र प्रहरीले एकतर्फी पार्किङमा भने बेवास्ता गरेको भन्दै सर्वसाधारणले प्रहरी र प्रशासनको समेत आलोचना गरिरहेका छन् । कार्यान्वयनको तीन महिना बित्न लाग्दासम्म अझै सरकारी निकायको प्रष्ट धारणा आउन नसक्दा सर्वसाधारण समेत अलमलमा परेका छन् ।

Exit poll 

जिल्ला प्रशासन कार्यालय म्याग्दी

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा विगत केही महिना देखि सञ्चालनमा रहेको एकतर्फी सडकका सम्बन्धमा पक्ष र विपक्षमा विभिन्न धारणाहरू आएकोले सो सम्बन्धमा के कसरी अगाडी बढ्दा सम्पूर्ण जिल्लाबासीहरूलाई उचित हुन्छ कमेन्ट बक्समा गई एकतर्फी (One Way) उपयुक्त लागेमा १ र दुईतर्फी (Two Way) उपयुक्त लागेमा २ टाइप गरी आ-आफ्नो धारणा पेश गर्नुहुन अनुरोध छ ।

Leave a Reply