युद्धग्रस्त मुलुक युक्रेनको राजधानीमा फसेका तीन म्याग्देली उद्धारपछि सुरक्षित गन्तव्यमा पुगेका छन् । रूस र युक्रेनबीचको युद्धबाट प्रभावित नेपालीको उद्धार र सहयोग गर्न सक्रिय रहेका नेपाली संघसंस्थामार्फत उद्धारको क्रममा तीन म्याग्देलीलाई युक्रेनबाट पोल्याण्डमा लगिएको छ ।

युक्रेनबाट उद्धार गरिएका म्याग्दीको मंगला गाउँपालिका भकिम्लीका नारायण पुन र उद्धारमा खटिएको टोली । तस्वीर सौजन्य : सुसन परियार

यूद्ध प्रभावित क्षेत्रबाट मालिका गाउँपालिका–६दिच्यामका अमृत पटेल, वडा नं ७ बिमका तिलक सुनार र बेनी नगरपालिका–३ भकिम्लीका नारायण पुन रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले बताए ।

युक्रेनबाट उद्धार गरिएका र उद्धारमा खटिएको टोली । तस्वीर सौजन्य : सुसन परियार

उनका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तब्यमा पुगिसकेको भएपनि भकिम्लीका पुन पोल्याण्डको सिमा क्षेत्रमा रहेको बताए ।‘उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ,‘बिरामी हुनुहुन्छ, त्रसित भएजस्तै गर्नुभएको छ’ परियारले भने ।

पोल्याण्डमा रहेको नेपाली संघसंस्थाले सिमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको बताए । पासर्पोटमा भकिम्ली लेखिएपनि पुनले आफुा बरंजाको भएको बताउने गरेकाले उद्धारको क्रममा समस्या भएको टोलीको भनाई छ ।

यता नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्याण्डका सभापति भिम परियारले उद्धारको क्रम जारी रहेको बताए । ‘म्याग्देलीको पहिचानमा जुटेका छौ, भिडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि संख्या बढ्ने देखिएको छ’ परियारले भने । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्क मार्फत उद्धारमा जुटेका छन् ।

उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिन सहित स्वास्थ्य चेकजाँच सहितको सुविधा रहेको छ । युक्रेन छोडेर पोल्याण्ड बाहेक स्लोभाकिया, हंगेरी, रोमानियाम र माल्डावामा समेत पुगेका छन् । युक्रेनमा म्याग्देलीको आधिकारिक संख्या पहिचान नभएपनि छिमेकी देशमा गइरहेका नेपालीहरुमा म्याग्देली समेत भएकाले संख्या धेरै रहेको अनुमान गरिएको छ ।

उद्धार गरिएकाहरूबाट युक्रेनमा रहेका म्याग्देलीको संख्याका बारेमा बुझ्ने प्रयास भइरहेको पोल्याण्डमा रहेका म्याग्देलीको भनाई छ । पछिल्लो समय रोजगारीका लागि रोमानियामा जाने म्याग्देलीको संख्या समेत धेरै भएकाले यूक्रेनबाट बाहिरिएका म्याग्देलीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।

Advertisement

Leave a Reply