मुस्ताङ अनुगमनको क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको टोली । तस्वीर सौजन्य शुसिल थकाली ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको उत्तर–दक्षिण जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दी खण्डको दुई स्थानमा सुरुङ मार्ग आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बताएका छन् ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको सडकखण्डको अनुगमनको क्रममा पौडैलले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र वडा नं ६, भीरकाटे सडकखण्ड भौगोलिक कठिनाईका कारण नियमित सडक सञ्चालनमा सवैभन्दा कठिन देखिएकाले दुईलेनको सुरूङमार्गको आवश्यकता रहेको बताए ।

‘स्थलगत अनुगमनमै सुरुङमार्गको आवश्यकता देखियो,‘सुरुङमार्गको अवधारणालाई आवश्यकता अनुसार सघाउँछौ’ उपाध्यक्ष पौडेलले भने । उनले म्याग्दी खण्डमा आवश्यक नै देखिएको सुरूङमार्गका लागि योजना आयोगबाट थप प्राथमिकतामा राखिने बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना बाँदरजुँग भीर

बाढीपहिरो र कालिगण्डकी तथा सहायक खोलाले धार नै परिवर्तन गरेर सडक बगाउने समस्याका भएका भीरकाटेमा कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले ३ सय ५० मिटर सुरुङमार्ग निर्माण गर्न अध्ययन गरेको छ भने मुस्ताङको सिमाना जोडिएको बाँदरजुँग भीर आसपासको जोखिम क्षेत्रमा समेत छोटो दुरीको सुरूङ बनाउनुपर्ने अनुगमन टोलीको भनाई छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वको सडक भएकाले आवश्यक स्थानमा डिजाइन परिवर्तन गरेर भएपनि सडकलाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं ६, भीरकाटे

मंगलबार कोरला सडकको अनुगमन पूरा गरी फर्किएको राष्ट्रिय योजना आयोगको टोलीले जोमसोममा पत्रकार भेटघाटका क्रममा उपाध्यक्ष पौडेलले सडकमा कामको प्रगति देखिएको बताए । उनले केही स्थानमा साविकको मापदण्डअनुसार डिजाइन परिवर्तनको आवश्यकता बारेमा आयोजना पक्षसँग छलफल गरेको बताए । उपाध्यक्ष पौडेलले मुस्ताङ र डोल्पासम्मको सडक प्राथमिकतामा परेको बताए । अनुगमन टोली सडक तथा धार्मिक गुम्बाहरुको सम्भाव्यता अध्ययन अवलोकन तथा अनुगमन गरी फर्किएको छ ।

तस्वीर सौजन्य शुसिल थकाली ।

विश्वकै पहिलो र पुरानो दावी गरिएको मराङको घार गुम्बा र लोमान्थाङका विभिन्न पुराना गुम्बाहरूको समेत अवलोकन गरेको छ ।टोलीमा आयोगका उपाध्यक्ष पौडेलसहित आयोगका सहसचिव राजेन्द्र पौडेल,संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका इन्जिनियर ललिजन खनाल र तिब्बती भाषा विद पुण्यप्रसाद पराजुली लगायतको टोली सोमबार मुस्ताङ आएको टोलीसँग सडकखण्डको कामका बारेमा जानकारी गराइएको बेनी–जोमसोम–सडकका आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए।

बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक ७ अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ ।आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ ।

 

Leave a Reply