राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १६औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डमा म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ की अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन घोषित भएका छन् । दुवैले नगद १÷१ लाख रुपैयाँ प्राप्त गरे । अरुणाको कप्तानीमा नेपालको महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।

२० बर्षपछि पहिलोपटक नेपाल महिला टोलीलाई अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगितामा उपाधी जिताउन सफल भएकी नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिलाको दोस्रो उपाधीमा समेत सतप्रतिशत नतिजा निकाल्न सफल भएकी थिईन् ।

हरेक अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी र काँस्य पदकसम्म पुगेर घर फर्किने गरेको नेपाली महिला टोलीले शाही कप्तान भएपछि सार्कस्तरीय प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएकै कारण भलिबलमा उनको नाम चर्चामा छ ।

नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करणको उपाधी सहित दर्जनभन्दा बढी राष्ट्रियस्तरको उपाधी समेत जितेकी शाही सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।

यसैबीच एनएनआईपीएले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डमा विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिँदै आएको छ । त्यही उत्कृष्ट मध्येबाट महिला र पुरुषतर्फ १÷१ जनालाई सर्वोत्कृष्ट अवार्ड दिइएको थियो । कोभिड–१९ का कारण २०७७ सालमा खेलकुद प्रतियोगितामा असर परेकाले सम्बन्धित संघले गरेको सिफारिसको आधारमा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको हो ।

Leave a Reply