म्याग्दीको रघुगंगा गाउँपालिका-६,रायखोरकी कुमारी तामाङ दमाईको परिवारलाई कुवेतमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । भीरबाट खसेर तिर्थबहादुर दमाईको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली भएको समाचार बेनीअनलाइन सहित राष्ट्रिय सञ्चारमाध्यमा प्रकाशित भएपछि ४० हजार ६ सय २९ रुपैयाँ सहयोग गरिएको हो ।

मृतक दमाई समेत कार्यरत पुर्व कम्पनीमा रहनुभएका रायखोरका ड बहादुर विक, मन शेरपुञ्जा मगर, झिँ गाउँका धन बहादुर परियार, गोपाल परियार,बुद्ध परियार लगायतको सक्रियतामा संकलित रकम बेनीअनलाइन प्रालि र बेनी साप्ताहिक समाचारपत्रकी कार्यालय प्रमुख जेनिशा पुरीले मृतक दमाईकी श्रीमति कुमारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

कम्पनीमा कार्यरत नेपाली तथा विदेशकी गरी ३४ जनाले सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पीडित दमाईले प्राप्त सहयोगले छोरीहरुको शिक्षादीक्षामा सहज हुने बताउनुभयो ।‘श्रीमानको मृत्युपछि अन्धकार जस्तै भएको थियो,‘अहिले मैले सबैको सहयोगले सहज भएको महसुस गरेको छु’ कुमारीले भन्नुभयो ।

उहाँले प्राप्त सबै सहयोग छोरीको नाममा एनसीसी बैंकमा खोलिएको खातामा जम्मा गरेको बताउनुभयो । तीन छोरीको शिक्षा र पालनपोषणका लागी प्राप्त सहयोगलाई प्रयोग गदैं आफुँले नियमित काम गरेर जीवन निर्वाह गर्ने उहाँको भनाई छ।

वैदेशिक रोजगारीबाट फर्किएका श्रीमानलाई राम्रो कमाई हुने देशमा पठाउन ८ लाख डुबेपछि जग्गा जमिन समेत गुमेको छ । पूर्वको इलाम जिल्लाबाट मजदुरी गर्ने क्रममा चिनजान भएपछि अन्तरजातिय विवाह गरेकी कुमारीलाई माइतीले स्वीकार नगरेकाले समेत कुमारीलाई मजदुरीबाटै परिवारको गुजरा चलाउनुपर्ने अवस्था छ । बेनी नगरपालिका–७, मंगलाघाटमा बस्ने कुमारीको अवस्था अझै कष्टकर रहेको छ ।

Leave a Reply