बागलुङको माथिल्लो क्षेत्रमा यो बर्षकै भारी हिमपात भएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा बिहिबार साँझदेखि भारी हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् ।

जिल्लाभर बर्षासँगै उच्च पहाडहरुमा हिमपात भएको हो । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भारी हिमपात भएको छ । स्थानीय सर्वसाधारणले त्यहाँ हिमपात भएका तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् ।

काठेखोला गाउँपालिकाको घोडाबाँधे, गलकोट नगरपालिकाको घुम्टेको लेक, जैमिनी नगरपालिकाको हाँडिकोट र गाजाको दहक्षेत्र, बडिगाड गाउँपालिकाको उच्च पहाडी क्षेत्र, तमानखोल र बरेङ गाउँपालिकाका टापुहरु तथा निसीखोला गाउँपालिकाको उपल्लो भेग पातिहाल्ने, भलकोट लगायतका क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि परेको हिउँ समान्य रहेपनि यस पटक बर्षकै भारी हिमपात भएको काठेखोला गाउँपालिका-५ का स्थानीय भरत सापकोटाले बताए ।

बडिगाड गाउँपालिका-७ का स्थानीय शिक्षक दिनेश शर्माका अनुसार त्यहाँको जनजीवन निकै प्रभावित भएको छ । बडिगाडमा हिमपात हुँदा सर्वसाधारण पशुचौपायालाई घाँस दिनका लागि बाहिर निस्किन समेत सकेका छैनन् ।

मध्यपहाडी लोकमार्गको बुर्तिबाङ पातिहाल्ने खण्डमा भारी हिमपात भएका कारण सडक अबरुद्ध छ । बागलुङबाट रुकुम, रुकुमबाट बागलुङका लागि हिँडेका सर्वसाधारण बिचबाटोमै अलपत्र छन् । ढोरपाटन-सालझण्डी सडक, सिगाना-बरेङ सडक सहित जिल्लाका उच्च पहाडी क्षेत्रमा पुग्ने शाखा सडकहरु समेत अबरुद्ध भएका छन् । Source:janamanch.com

Leave a Reply