मुस्ताङमा फेरि हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण हिजो रातिदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

पाँच वटा गाउँपालिका रहेको जिल्लाको माथिल्लो क्षेत्रसहित सबै ठाउँमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । हिमपात भएपछि मुस्ताङका डाँडापाखा अहिले सेताम्मे बनेका छन् । वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको स्थानीयको भनाइ छ ।

मुस्ताङमा यो सिजनको चौथो पटक भारी हिमपात भएको हो । हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको प्रजिअ शर्माले बताउनुभयो।

हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी नपठाउन आग्रह गरिएको उहाँले बताउनुभयो । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ। मुस्ताङमा अहिले पनि सामान्य हिमपात भइरहेको छ ।

हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा हिजो रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको निलगिरि उपभोक्ता सहकारीको कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । उहाँले अहिले अवरुद्ध विद्युतकाे मर्मतकार्य सुरु गरिएको हुँदा थासाङ गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाबाहेक अन्य सबै ठाउँमा विद्युत् अवरुद्ध भएको जानकारी दिनुभयो ।

मुस्ताङमा निलगिरि उपभोक्ता सहकारीमार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । यसैबीच वर्षा, हिमपात र कोभिड–१९ सङ्क्रमण जोखिमको कारण यात्रु नपाउँदा जोमसोम–पोखरा विमानस्थलमा हवाई उडान पनि अवरुद्ध बनेको प्रजिअ शर्माको भनाइ छ ।


वर्षा र हिमपातले अत्यधिक चिसो बढेपछि नागरिकहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य भएका छन् । वर्षा र हिमपातले खाद्यबाली राम्रो हुने भएपछि किसानहरु भने उत्साहित बनेका छन् ।

 

Leave a Reply