‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सुरु भएको छ । बाजागाजा सहितको ¥यालीले म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रम सुरु गरेको एमाले म्याग्दीले जनाएको छ ।

अहिले एमालेको जिल्ला अधिवेशनको उद्घाटनसत्रमा नेताहरुले सम्बोधन गरिरहेका छन् । अधिवेशनलाई नेकपा एमाले स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्यद्वय भूपेन्द्रबहादुर थापा, नरदेवी पुन, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायत पार्टी तथा जनवर्गीय सङ्गठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नवौं जिल्ला अधिवेशनमा जिल्लाभरबाट कुल ५ सय १० जना प्रतिनिधिहरु छानिएका छन् । तीमध्ये भूगोलबाट ३ सय ५०, जिल्ला कमिटीबाट ५८, सल्लाहकार १०, पालिका कमिटी १२, जनवर्गीय सङ्गठन ३०, पेशागत महासंघ १० र विभागबाट १२ जना गरी ४ सय ८२ जना छनौट भएकोमा विधानले व्यवस्था गरेअनुसार सो संख्याको ५ प्रतिशतले २८ मनोनितसहित कुल ५ सय १० जना प्रतिनिधिले अधिवेशनमा भाग लिएको जनाइएको छ । एमालेको जिल्ला कमिटी २८ जना महिलासहित ९० सदस्यीय हुने जनाइएको छ ।

जिल्ला अधिवेशनबाट एमालेको नेतृत्व चयनका लागि सहमतिलाई विशेष जोड दिइएको छ भने सहमति हुन नसकेमा मात्रै लोकतान्त्रिक विधि अपनाइने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । एमालेले जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु गठन गरेर अधिवेशनको तयारीलाई तीव्र बनाएको थियो ।

Leave a Reply