विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ । कालिगण्डकी माथिको रिसोर्ट परिसरमा (बागलुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार साइक्लिङ दुईतर्फी गरेर ६ सय मिटरको रहेको छ । कोरोना महामारी पछिको समयमा आन्तरिक पर्यटकको चहल पहल बढिरहेको र अँग्रेजी नयाँ बर्षलाई समेत लक्षित गरेर स्काइ साइक्लिङ शुरु गरिएको उनले बताए । स्काइ साइक्लिङ सञ्चालन भएको छोटो समयमा नै पर्यटकहरु यसको मज्जा लुट्न आइरहेको कम्पनीले जनाएको छ ।

साइक्लिङका लागि प्रति व्यक्ती तीन हजार पाँच सय रहेकोमा शुभारम्भको अवसरमा छुटमा  दुई हजार पाँच सय तोकिएको कम्पनीले जनाएको छ । उक्त स्थानमा पर्यटकले अत्यन्त रुचाएको बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत पनि छुट दिइएको कार्कीले बताए । साहसिक खेलप्रति पछिल्लो समय युवाहरुको आकर्षण बढेको जनाउँदै यसैलाई मध्यनजर गर्दै साहसिक खेलका गतिविधि थपिएको कम्पनीका अर्काे निर्देशक नेत्र पराजुलीले बताए ।

बिश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेशन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् ।  उनका अनुसार गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ ‘प्रडक्ट’का रुपमा स्काइ साइक्लिङ सुरु गरेको हो । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कम्पनीले जनाएको छ । विश्वमा दुईसय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कम्पनीेको दावी छ । source: capitalnepal.com

Leave a Reply