पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङमा रहेको जनप्रिय माविको सुविधासम्पन्न १६ कोठे भवन निर्माण शुरु भएको छ । जिल्लाकै पूरानो विद्यालयमा विद्यार्थीको चापसँगै भौतिक पूर्वाधारको अभाव भएपछि छ्यारछ्यारेमा रहेको विद्यालयको जग्गामा गोर्खा वयलफेयर संस्थाको सहयोगमा भवन निर्माण शुरु भएको हो । प्रयाप्त संरचना सहित उच्च शिक्षा र भविस्यमा क्याम्पस तहको सञ्चालन गर्ने गरी पूर्वाधार विस्तारमा अगाडी बढेको विद्यालयलाई मालिका–५,देविस्थानका क्या.जितबहादुर घर्तीको पहलमा गोर्खा वयलफेयरको सहयोगले सहज भएको प्रअ दिवाकर सुबेदीले बताए ।

‘अब मावितहसम्मका लागि भौतिक संरचनाको अभाव हुदैन’ प्रअ सुबेदीले भने । दुई करोड ७५ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न गोर्खा वयलफेयरले ९० प्रतिशत सहयोग र विद्यालयले बाँकी आन्तरिक तथा श्रमदानबाट गर्ने गरी सम्झौता भएको प्रअ सु्बेदीको भनाई छ । उक्त भवनका लागि बेलायती सेनाका पूर्व क्याप्टेन समाजसेवी क्या. घर्तीमगरले लामो प्रयास गरेका थिए । भवन निर्माणको कार्यले तिब्रता पाएको छ ।

दुई तले भवनमा १६ वटा कोठा रहनेछन् । उपल्लो दरबाङमा हाल भएको भवनलाई छात्राबास बनाउने तथा पुरोना खेलमैदानमा रहेको भवनलाई विद्यालयको अन्य संरचनाका लागि प्रयोग गर्ने विद्यालयले जनाएको छ । दरबाङमा निकट भविस्यमा क्याम्पस बनाउन गाउँपालिकाले समेत थप जग्गा ब्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ ।

हाल कक्षा १२ सम्म पठनपाठन हुने जनप्रिय माबिमा ६ सय जना भन्दा बढी बिद्यार्थी छन् । छ्यार छ्यारेमा गत बर्ष राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चार कोठे भवन तयार भइसकेको छ भने गोर्खा वयलफेयर पुरानो भवनमा समेत संरचना थप्न सघाएको छ । प्राथमिक तह म्याग्दी नदीको कटानको जोखिममा रहेको खेलमैदानमा रहेका भवनबाट सञ्चालन भएको छ । विद्यालयले भबन सहित छ्यारछ्यारेमा ब्यवस्थित खेलमैदान लगायतका अन्य संरचनाहरु समेत बनाउने छ ।

 

Leave a Reply