सार्वजनिक सभा, समारोहमा मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला हो । प्रायः व्यक्ति साथीभाइसँग निर्धक्क बोल्न र गफ गर्न सके पनि मञ्चमा गएर भाषण दिन धकाउँछन् । त्यसको खास कारण भनेको भाषणकलासम्बन्धी ज्ञान र अभ्यासको कमीले हो । तपाईं सार्वजनिक कार्यक्रममा बोल्न र आफ्नो मन्तव्य दिन धकाउनु हुन्छ भने आजैदेखि यसको अभ्यासमा लाग्नुस् । भर्खरै प्रकाशित ‘भाषणकला’ पुस्तक तपाईंका लागि गाइड बन्न सक्छ । यसको अध्ययन र अभ्यासबाट मञ्चमा गएर आफ्ना भनाइ राख्न सहज हुन सक्छ ।

भाषणकलाका लेखक राम घिसिङ पनि कुनै समय भाषण गर्न धकाउँथे । आफूसँग भाषण गर्ने कला नभएकाले धेरै कुरामा पछि परेको महसुस भएपछि उनले बागबजारमा रहेका सबै पुस्तक पसल चहारे । अनलाइन र युट्युब हेरे । तर आफूले भनेजस्तो सामग्री कहीँ नभेटेपछि आफैँ पुस्तक लेख्ने तयारी थाले । कोभिडका कारण लकडाउनले घरमा बन्दी भएको समयमा तीन महिना उनी भाषणकला पुस्तकको संरचना कस्तो बनाउने भनेर लागे । त्यसको खाका तयार गरेपछि करिब एक वर्ष खोज र अनुसन्धानबाट उनले यो पुस्तक तयार गरे । उनले आफ्नो पुस्तकमा कलात्मक भाषणका लागि वक्ताले निम्न कुरालाई ध्यान दिनुपर्ने बताउँछन्–
–बोल्ने विषयमा पूर्ण जानकारी लिने,
–शुद्ध र स्पष्ट बोल्ने,
–सबैले बुझ्ने सरल शब्द प्रयोग गर्ने,
–श्रोताको भावनाको कदर गर्ने,
–प्रश्नकर्ताको कदर गर्ने,
–मीठो अभिव्यक्ति शैली निर्माण गर्ने,
–सङ्क्षेपमा अभिव्यक्ति दिने सीपको विकास गर्ने,
–सिर्जनात्मक र व्यङ्ग्यात्मक अभिव्यक्ति सीपको विकास गर्ने,
–शीघ्र निर्णय गर्ने क्षमताको विकास गर्ने,
–साहित्यिक ज्ञानको पहुँच बढाउने,
–समयको पावन्दीलाई सधैँ ख्याल गर्ने,
–सधैँ अध्ययनशील रहने,
–सिकारुहरूले घरमै आफ्नो अभिव्यक्ति शैलीको विकास गर्न अडियो, भिडियो रेकर्ड गरी अभ्यास गर्ने, सुन्ने, आफ्ना कमीकमजोरीहरू पहिल्याउने ।
–मञ्चमा अवसर पाउनासाथ आफ्नो क्षमताको उपयोग गर्ने ।
–कलात्मक भाषण गर्ने व्यक्तिहरूको अभिव्यक्ति शैलीको अध्ययन गर्ने र आफ्ना कमीकमजोरीहरूको तुलना गर्ने ।
यी कार्य निरन्तर गरे कोही कसैले सभा समारोहमा बोल्नका लागि धकाउनु पर्दैन । भाषणकला भनेको सामाजिक पुँजी निर्माणको कार्य भएको हुँदा यसको सैद्धान्तिक विषयमा प्रकाशन भएका पुस्तकहरू अध्ययन गर्दा कलात्मक भाषणमा निखारता आउने उनी बताउँछन् ।

यस पुस्तकमा भाषणकलाको सैद्धान्तिक र व्यावहारिक अभ्यासका लागि भाषणका केही उदाहरण पनि दिइएका छन् । चौध एकाइमा विभाजित यस पुस्तकमा भाषण एक विशेष वाक्कला, वक्ता र भाषण, कला र पेसाका रूपमा भाषण, भाषणकलाका तत्त्वहरू, भाषणको तयारी, प्रस्तुतीकरण, व्यक्तित्व विकास, नेतृत्व विकास, आत्मविश्वास, अन्तरवार्ता, भाषण गर्ने सूत्र, मर्यादाक्रम, शुद्ध र फरक शब्दलगायत शीर्षक छ । अन्त्यमा केही भाषणहरू भनी नेपालका र विश्व स्तरका नेताहरूको भाषण नमुनाका रूपमा दिइएको छ ।
देशविदेशका लब्धप्रतिष्ठित व्यक्तिका भाषण स्पष्ट र सकेसम्म निर्विवाद खालका हुनेगर्छन् । त्यसको अध्ययनले पनि भाषण गर्ने कलामा निखारता ल्याउन सहज हुन्छ । यसले ज्ञानको दायरा फराकिलो मात्रै पार्दैन, अध्ययन गर्नेको भाषण कौशललाई पनि निखारता दिन्छ । यदि तपाईं भाषण गर्न मञ्चमा जानुभयो भने निम्न कुरालाई विचार पुर्याउन आवश्यक हुन्छ । यसलाई भाषणकलाको सूत्र पनि भनिन्छ–

–कार्यक्रम अनुसारको सम्बोधन,

–आफूले बोल्ने कार्यक्रमको महत्त्व,

–आयोजकलाई धन्यवाद्

–कार्यक्रमको स्थान र समयबारे बताउने,

–विषयअनुसारको अभिव्यक्ति दिने,

–विषयअनुसारको उखान–टुक्का र उक्तिहरूको प्रयोग गर्न नछुटाउने,

–स्वरको आरोह–अवरोहमा विचार पुर्याउने,

–प्रामाणिक तथ्य मात्र प्रयोग गर्ने,

–श्रोताको स्तरलाई ध्यान दिने,

–तर्कयुक्त र विनयपूर्वक खण्डन गर्ने,

–व्यक्तिगत कुरा नगर्ने,

–भाषण लामो भएमा हाँसो, ठट्टा र उत्साहवद्र्धक प्रसङ्ग जोड्ने,

–जाति, राष्ट्र र राष्ट्रियताबारे बोल्दा ध्यान पुर्याउने,

–घमण्ड नगर्ने ।

भाषणकलाका यी तत्तवलाई प्रत्येक असल वक्ताले विचार पुर्याइरहेका हुन्छन् । भाषणका मुख्य चार प्रकारमध्ये सार्वजनिक भाषणअन्तर्गत सूचनात्मक, पवर्तक भाषण, धन्यवाद ज्ञापन भाषण, विजेता, उपविजेताको भाषणलगायत प्रत्येकको उदाहरणसहित यसमा प्रस्तुत गरिएको छ । साथै समृद्ध, स्वाधीन, शक्तिशाली, स्वच्छ वातावरण भएको देश कसरी बनाउने जस्ता भाषणका उदाहरण पनि यस पुस्तकमा समेटिएको छ ।

मुख्य रूपमा यी चारवटा कुरा अन्य पुस्तकमा भन्दा भिन्न छन् । पढ्न लेख्न जान्ने जोकोहीलाई सार्वजनिक स्थानमा भाषण गर्न सकून् भन्ने उद्देश्यका साथ यो पुस्तकको लेखिएको लेखकको भनाइ छ । भाषण सबैले गर्छन् तर वाक्कला अन्तर्गतको भाषण र भाषणअन्तर्गतको वाक्कलालाई छुट्याउन सक्दैनन् । यो पुस्तकको अध्ययनपछि भाषणकला जानेका व्यक्तिहरूले पनि आफ्ना कमजोरी पहिल्याएर सुधार गर्न सक्छन्, भाषणकलामा निखार ल्याउन सक्छन् । राम घिसिङको भाषणकलाको पुस्तक चर्चा

Leave a Reply