बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना बजारबासीले स्वतःस्फुर्त रुपमा हटाउन सुरू गरेको छ । बेनी नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गरेको अनुरोधलाई वडा नं ७ र ८ का घरधनीहरूले सडक अतिक्रमण गरी निर्मित विभिन्न संरचना आफैँ हटाउन सुरू गरेका छन् ।

विगतमा पटक–पटक सार्वजनिक सूचना जारी गरेर दैनिक रूपमा सडकपेटी मिचेर व्यवसाय नगर्न÷नगराउन र पक्की घर अगाडि निकालिएका टहरा, पाली, लगायतका संरचना हटाउन आग्रह गर्दै आएको भएपनि त्यसको धेरैले वास्ता नगरेको अवस्थामा यसपटक बजारलाई सुन्दर र ब्यवस्थित बनाउन घरधनी र ब्यवसायीले नै साथ दिएपछि सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।

‘बजारबासीको सहयोगबाटै सुन्दर र नमुना बजार बनाउन सकिन्छ,‘अनुमति विना बनाइदै गरेका संरचनाहरूमा समेत निगरानी गरिरहेका छौ’ ढकालले भने ।नगरपालिकाको मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको समय दिएको थियो । बजारभित्र आफ्नै पहलमा खर्च गरी संरचना हटाएकाले थप केही स्थानमा बाँकी रहेपनि एक साताभित्र खाली गरिने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राना,प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, बेनपा ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र ८ का अध्यक्ष रामकृष्ण बराइली सहितको टोलीले अनुगमन समेत गरी हटाउनेलाई धन्यवाद र हटाउन बाँकी रहेकालाई तत्काल निर्देशन समेत दिएको थियो ।

ट्राफिक प्रहरी र उद्योग बाणिज्य संघका प्रतिनिधिले समेत आफ्नो तर्फबाट अभियानमा साथ दिएका छन् । बजारभित्र होटल, फेन्सी, खाद्यान्न, फलफूल ब्यवसायीलाई घर भन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड,जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न निर्देशन दिएको छ। त्यस्तै न्युरोडमा सडकमा गाडिएका टेलिकमका पोल हटाइएपछि सडक समेत फराकिलो भएको छ ।

नगरपालिकाको अनुमति विना मापदण्ड समेत मिचेर मनपरी संरचना थप्ने जस्ता गतिविधिमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिए । ‘सार्वजनिक ठाउँमा अटेर गरी बनाइएका संरचना नहटाए मेसिन लगाएर भएपनि हटाइने छ’ वडा नं ८का अध्यक्ष रामकृष्ण बराईलीले भने ।

उनले एकतर्फी पार्किङलाई समेत ब्यवस्थित बनाउने तथा नगरपालिकाले भाडामा दिएको बाहेक आफ्नो मनखुसीले संरचना थप्नेलाई समेत तत्काल हटाउन दिइएको निर्देशनलाई बेवास्ता गरेपछि प्रहरीको सहयोगमा हटाउने तयारी भइरहेको बताए ।

बजारभित्र निम्न आर्थिक अवस्था भएकालाई नगरपालिकाले टंकी, ठेला राख्ने सुविधा दिएपनि ब्यापारीको समेत नजर परेकाले नियमन गरिने जनाइएको छ । बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निर्णहरु कार्यान्वयनको अभावले बेनी बजार अब्यवस्थित र ब्यवसायीको सामानहरुले सडकहरु साघुरो हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । दुर्घटनाको जोखिम बढेको र बजार भित्र सवारी जाम हुने समस्या छ।

 

Leave a Reply