म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने अग्लो झोलुङ्गे पुलको शिलान्याससँगै निर्माण कार्य सुरु भएको छ ।

दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ । दुई जिल्लासँगै धार्मिक पर्यटनका लागि समेत उक्त पुल कोसेढुङ्गा सावित हुने बताइएको छ । पुलको आइतबार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै आफ्नो एउटा सपना पुरा भएको बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालयलगायत म्याग्दी,बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने बताउनुभयो ।

म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुङ्गा सावित हुने स्थानीयको भनाई छ । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने छ । माननिय भुपेन्द्र थापाको पहलमा रत्नेचौरमा धमाधम विकास निर्माणका योजनाहरु परेका छन् ।

Leave a Reply