नेपाली काँग्रेस म्याग्दीको आजदेखि सुरु हुने जिल्ला अधिवेशनमा दुई समुहबाट विभिन्न पदमा उम्मेदवारी घोषणा सुरु भएको छ । ७ औँ जिल्ला अधिवेशनको मनोनयन दर्ताको एक दिन अगाडी सामाजिक सञ्जालमा देखिएका उम्मेदवारहरूको संख्याले यसपटक कांग्रेस म्याग्दीमा सहमतिभन्दा पनि मतदान प्रक्रियाबाटै टुंगो लाग्ने अवस्था देखिएको छ।

सामाजिक सञ्जालमार्फत विभिन्न पदमा धमाधम उम्मेदवारी घोषणाले पार्टी सभापति खम बहादुर गर्बुजा र निवर्तमान सभापति रेशमबहादुर बानियाँको समुह नेतृत्वका लागि आमने–सामने हुने अवस्था आएको छ ।

यूवा नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने र पदाधिकारी सहित कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा सहमति नभए मतदान प्रक्रियाबाटै टुंगो लगाउने गरी प्रयास जारी राखेपनि सभापति, उपसभापति, सचिव सहित महाधिवेशन प्रतिनिधिमा आवश्यकता भन्दा धेरैले मनोननय दर्ता गर्ने संकेत देखिएपछि सहमतिको प्रयासले समेत सफलता प्राप्त गर्न सकेको छैन् ।

यसपटक आफ्नो पकट जमाइराख्न पार्टी सभापति गर्बुजाको समुह सक्रिय छ भने संस्थापन इतरको नेतृत्व गरेका बानियाँले समेत सबै पदमा एकलौटी चयनको प्रयास भएको भन्दै त्यसलाई मतदान प्रक्रियाबाटै चुनौती दिने प्रयासमा छ ।

पार्टी सभापतिमा देउबा समुहबाट गर्बुजा र पौडेल समुहबाट बानियाँले प्रतिस्पर्धा गर्ने देखिएको छ भने गर्बुजाको प्यानलबाट उपसभापतिमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, क्याप्टेन मिनबहादुर कार्की, कमल छन्त्याल र बानियाँको प्यानलबाट अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा, केबी भण्डारीले उम्मेदवारी दिने बताइएको छ ।

त्यस्तै सचिवमा संस्थापनतर्फबाट सचिवमा भरत रकाल, हिरा पुन तथा संस्थापन इतर समुहबाट दुर्गाराम सुबेदी र अजयमिलन श्रेष्ठ मैदानमा उत्रिएका छन् । सहसचिव पदमा श्रीराम पौडेलले उम्मेदवारी दिएका छन् । सहसचिव सहित कार्यसमितिमा समेत दुबै प्यानलबाट आफ्नै तयारी भएपनि कार्यसमिति सदस्यमामनोनयन फिर्ताको अवधिसम्म सहमति हुने संकेत देखिएको छ ।

यसपटक अघिल्लो निर्वाचनमा सभापति गर्बुजालाई सघाएकाहरुले क्याम्प परिवर्तन गरेका छन भने अन्तिम समयमा निवर्तमान सभापति बानियाँको पक्षमा रहेका केही सक्रिय अनुहारले समेत प्रदेशसभाको निर्वाचनमै क्याम्प परिवर्तन गरेको घोषणा नै गरेका छन्।

महाधिवेशनमा सहभागी हुने होडमा सबैभन्दा धेरै जोखिम महाधिवेशन प्रतिनिधिमा मोलेका छन् । तर जिल्लातहमा बस्ने दुवैका लागि अघिल्लो प्रतिस्पर्धाको जस्तो अनुकूल परिस्थिति छैन । यसपटक सभापतिमा गर्बुजा दोहोरिने सम्भावना बलियो देखिन्छ तर पनि गर्बुजाका लागि विगतमा आफुँले नै राजनीतिमा प्रवेश गराएका आफ्नै समूहबाट केही नेताको उम्मेदवारी चुनौती बनेको छ ।

धेरै नै अगाडी उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका निवर्तमान सभापति बानियाँको तस्वीर सहितको घोषणा भने सामाजिक सञ्जालमा भएको छैन् । अघिल्लो पटक पार्टी सभापतिमा गर्बुजासँगै प्रतिस्पर्धा गरेका नेत्रबहादुर महत छन् । कांग्रेसका उम्मेदवार मतदान प्रक्रियामै प्रवेश गरेमा जिल्लामा दुई समुहको राजनीति थप कसिलो हुने निश्चित छ ।

यता बुधबार मनोनयनदर्ता सहितको परिस्थिति आकलन गरेर निर्णय लिने भन्दै केहीले उम्मेदवारी समेत दिएका छैनन् । दुबै प्यानल बनाएर मैदानमा उत्रिए लोकप्रियताका आधारमा उम्मेदवारले बाजी मार्ने देखिएको छ । नेतृत्व सहित धेरै पदमा एकले अर्कोलाई छाड्ने मनस्थिति बनाइसकेका छैनन् ।

आफ्नै दाउमा उम्मेदवार
जिल्लामा सम्पन्न भएको वडा र पालिकास्तर र प्रदेशसभाको निर्वाचनमा गर्बुजा पक्ष बलियो देखिएको छ । वडा तहबाटै चुनिएर आएका ७ सय ५० जना प्रतिनिधिमा भने बानियाँ पक्ष समेत बलियो रहेको बताइएकाले नेतृत्व चयनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

संस्थापन इतरले सम्मानजनक सहभागिता खोजेको छ भने संस्थापन पक्षले प्रतिशतमा तोक्न खोजेपछि दुबै समुहबाट मनोनयन दर्तामै भेट हुने बताइरहेका छन् ।  संस्थापन इतर समुहले माओवादी यूद्धको बेलामा समेत पार्टीलाई जोगाएको अनुभव सहित माओावदीको लहरमा समेत चुनावी मैदानमा उत्रिएको र अनुवी नेता भएकाले चुनावी टिकटमा सहमति गरी नेतृत्वको विकल्प नभएको बताउँदै आएका छन् ।

अहिले सभापतिको समुहले केन्द्रिय सभापति देउवालाई देवत्वकरण गर्ने र अन्य जिल्लाका नेताहरुलाई बेवास्ता गर्ने गरेकाले जिल्ला नेतृत्व सहित सबै पदमा सहजै नछोड्ने बताइरहेका छन् । उता पार्टी सभापति गर्बुजाले नेतृत्व गरेपछि जिल्लामा पार्टीको उपस्थिती बलियो भएकाले यसपटक निर्वाचनको मुखमा नेतृत्व परिवर्तन असम्भव भएकाले सभापति र प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा गर्बुजाको बिकल्प नभएको बताएका छन् ।

संविधानसभाको पहिलो निर्वाचनमा ५ हजार जनमतबाट २१ हजारसम्म पुर्याउन सभापति गर्बुजाले खेलेको भूमिकाले समेत पार्टीमा उत्साह थपिएको र विपक्षले समेत गर्बुजालाई नै कमजोर बनाउने नेतृत्व आए सहज हुने बताइरहेको भन्दै संस्थापन समुहले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन पार्टीलाई दिर्घकालिन क्षती हुने दावी गरेका छन् ।

गएको प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गर्बुजाले नेकपा एमाले र माओवादीको संयुक्त उम्मेदवारलाई कडा टक्कर दिएकाले पनि उनलाई दोहोराउँदा पार्टीलाई आगामी निर्वाचनमा सहज हुनेमा कांग्रेसका पुराना कार्यकर्ताको भनाई छ भने अघिल्लो निर्वाचनमा असहयोग गरेका पार्टीभित्रका केही अवसरबादी नेताहरूले अहिले सभापति गर्बुजालाई बोकेर हिडेकाले उनी सिमित ब्यक्तिको घेराभित्र रमाउने गरेको संस्थापन इतर समुहको भनाई छ ।

यता प्रदेशसभामा चयन भएका तथा यूवा नेताहरु सहमतिबाटै अधिवेशनलाई टुंगो लगाउने पक्षमा छन् । दुबै समुहसँग नजिक भएका यूवाहरुको प्रयास समेत कमजोर नभएकाले अन्तिममा धेरै पदमा सहमति हुने देखिएको छ ।यसपटक जिल्लामा मतदान प्रक्रियाबाटै नेतृत्व चयन भएमा नजिकै रहेको स्थानीय तहको निर्वाचनसँगै प्रदेश र प्रतिनिधिसभामा समेत असर गर्ने कांग्रेसका जानकारहरू बताउँछन् ।

यसपटक जिल्लामा कांग्रेस र नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने करिब निश्चित जस्तै भएकाले कांग्रेसको जिल्ला नेतृत्वमा एकताको सन्देश दिनुपर्ने यूवाहरुको भनाई छ ।

जिल्ला अधिवेशनबाट सभापतिमा १, उपसभापति २, सचिव २ र सहसचिव २ जना गरी ७ जना पदाधिकारी बाहेक कोषाध्यक्ष मनोनित गरिने छ । त्यस्तै कार्यसमिति सदस्यतर्फ ५ गाउँपालिकाबाट १ महिला सहित १० जना, बेनी नगरपालिका १ महिला र २ पुरुष र जिल्लाबाट महाधिवेशनका लागि खुल्लातर्फ ४ महिना सहित १४ जना, आरक्षण १० र समावेशीतर्फ १ जना गरी २५ जनाले प्रतिनिधित्व गर्नेछन् ।

Leave a Reply