जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका खेलकुदजन्य गतिविधि सञ्चालनका बारेमा जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्यो ।

बेनी नगरपालिका सहित जिल्लाका सबैजसो पालिकामा चाडपर्व लक्षित खेलकुद गतिविधि सञ्चालन भइरहेको अवस्थामा एक्कासी प्रशासनको सार्वजनिक गरेको सूचनाले आयोजक अलमलमा परे । कोरोना भाइरसको जोखिमलाई देखाउँदै खेलकुद गतिविधि सञ्चालन नगर्न निर्देशन सहितको सूचना जारी गरेपनि ब्यवहारिक रुपमै कार्यान्वयनमा भने चुनौती थपिएको छ ।

विगत दुईबर्ष देखि कोरोनाको त्रासले खेलकुद गतिविधि सञ्चालन गर्न नपाएको अवस्थामा यसपटक स्थानीय तहको अनुमतिमा आवश्यक तयारी सहित विभिन्न वडामा सञ्चालित खेलकुदजन्य प्रतियोगितासँगै देउसीभैलो सञ्चालन नगर्न अनुरोध गरिएपनि जिल्लाभित्र जारी र अनुमति लिएर भने खेलकुद गतिविधि सञ्चालन भइरहेको छ ।

स्थानीय तहसँग समन्वय गरी खेलकुदसँगै स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकलाई सम्मान सहितका रचनात्मक कार्यहरूलाई कोरोनाको मापदण्डको पालना गदैं सञ्चालन गरिएको आयोजनकले जनाएको छ । ‘प्रशासनको सूचनामा बन्द गर्ने मिति छैन्,‘कम्तिमा एक साता अगाडी नै सूचना भएको भए स्थगित गर्न सजिलो हुने थियो’ मेला सञ्चालन गरिरहेका एक यूवा क्लवका प्रतिनिधिले बेनीअनलाइनलाई भने ।

प्रशासनले स्थानीय तहका जनप्रतिनिधिको समेत अनुरोधमा सूचना जारी गरेको बताएपनि खेलकुद प्रतियोगितामा जनप्रतिनिधि नै अतिथि भएर मेलाको उद्घाटन गरेका छन् ।

जनप्रतिनिधिले आयोजकलाई कोरोना भाइरस बिरुद्धको मापदण्ड पालना गर्न सचेत गराएकाले खेलकुद प्रतियोगिता बन्द नै गर्न आवश्यक नभएको बताउँदै मापदण्ड पालना गरी सञ्चालनका लागि पहल गर्ने भन्दै आयोजकलाई आश्वासन समेत दिएका छन् ।

यता सहायक प्रजिअ सुवास शर्मा पौडेलले कोरोना संक्रमतिको संख्या बढ्दै जान थालेपछि सूचना जारी गरेको बताए । ‘जोखिम टरेको छैन्,‘चाडपर्वमै संक्रमति बढ्ने विगतलाई हामीले बिर्सनुहुदैन’ सहायक प्रजिअ पौडेलले भने।

उनले चाडपर्वमा कडाई गर्ने प्रशासनको एकल निर्णय नभएको बताउँदै सरोकारवाला निकायको सुझावलाई कार्यान्वयन गरिएको बताए । उनले प्रशासनको सूचनालाई चुनौतीभन्दा पनि पालना गर्न समेत अनुरोध गरेका छन् । म्याग्दीमा हाल २० जनाको हाराहारीमा संक्रमति होम आइसोलेसनमा छन् । गण्डकी प्रदेशकै अन्य जिल्लामा खेलकुदजन्य गतिविधि सहित चाडपर्व लक्षित गतिविधिलाई समयसीमा तोकिएपनि पूर्णरुपमा बन्देज गरिएको छैन् ।

अरू जिल्लामा समयसीमा,म्याग्दीमा देउसी खेल्नै नपाईने
गण्डकी प्रदेशको केन्द्र कास्कीमा देउसी–भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने सूचना जारी गरेको छ । कास्की सहित प्रदेशभित्रका धेरै जिल्लाले समेत समय सीमा तोकेर देउसी–भैलोलगायतका कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयबाट कोभिड–१९रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रमसञ्चालन गर्न आदेश जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो ।

मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत म्याग्दीमा रोक लगाइएको भन्दै समयसीमा तोक्न प्रशासनलाई अनुरोध गरिएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयले नै देउसी–भैलो लगायतका कार्यक्रममार्फत विद्यालयका शिक्षकको तलब जुटाउने गरेका छन् । साथै विभिन्न सामाजिक संघसंस्थाले समेत सामाजिक कार्यका लागि देउसीभैलो सञ्चालन गर्ने गरेको विगतलाई समेत प्रशासनले बेवास्ता गरेको छ ।

सुन्य दरबन्दी भएका विद्यालयले देउसीभैलोबाटै स्रोत जुटाएर शिक्षकलाई तलब खुवाउने गरेकोले प्रशासनको निर्णयले गाउँभित्र विद्यार्थी र अभिभावकको उपस्थितीमा समेत देउसी सञ्चालनमा समस्या भएको एक विद्यालयका प्रधानाध्यपकले बताए ।

‘कम्तिमा समय तोक्न पालिकामार्फत अनुरोध गरेका छौ,‘यो बेलामा रहर नभई बाध्यताले खेल्नुपर्ने अवस्था छ’ उनले भने । कोरोना संक्रमतिको संख्या २० नाघेपछि सरोकारवाला निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायतको सुझावको आधारमा जिल्ला सुरक्षा समितिको बैठकको सिफारिस भन्दै जारी सूचनाको कार्यान्वयनमा चुनौती देखिएको छ ।

पटका पूर्ण रुपमा बन्देज
प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न गरेको निर्णयसँगै प्रहरीले सदरमुकाम बेनीमा निगरानी बढाएको छ ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रहरीले जनाएको छ । त्यस्तै मठमन्दिर, गुम्बालगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठ लगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ।

Leave a Reply