नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते हुने भएको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएको म्याग्दीमा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन रोकिएको थियो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले विहिवार गरेको निर्णय अनुसार, म्याग्दीमा कात्तिक २७ गते प्रदेश विर्नाचन क्षेत्र र मंसिर १ गते जिल्ला अधिवेशन हुने भएपछि जिल्लामा नेतृत्वका लागि तिब्र तयारी भइरहेको छ ।

अधिवेशनमा वर्तमान जिल्ला सभापति खमबहादुर गर्वुजा( खमवीर) र निवर्तमान जिल्ला सभापति एवम संविधानसभा सदस्य रेशमबहादुर बानियाँबिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । गर्बुजा र बानियाँको पक्षमा देखिएका नेताहरुले आफ्नो पक्षमा नतिजाका लागि प्रतिनिधिहरुसँग भेटघाट तिब्र पारेका छन् । पार्टी सभापति भएपनि गर्बुजालाई यसपटक सहजै नेतृत्व सुम्पिने पक्षमा बानियाँ समुह छैन् ।

विगतमा जस्तै गर्बुजाले पनि यसपटक प्रतिस्पर्धा हुने देखेर आन्तरिक तयारीमा जुटेको बताइएको छ । वडा र पालिकास्तरको निर्वाचनमा गर्बुजा पक्षको नतिजा देखिएपनि प्रतिनिधिहरुमा बानियाँ पक्षमा समेतले समेत बलियो रहेको एक नेताले बताए ।

‘बर्तमान सभापतिमा पार्टी सञ्चालनको अनुभव देखिएन्,‘उहाँको केन्द्रमा राम्रो पहुँच भएकाले उतै लाग्दा राम्रो हुन्छ’ उनले भने । माओवादी यूद्धको बेलामा समेत पार्टीलाई जोगाएको अनुभव सहित माओावदीको लहरमा समेत चुनावी मैदानमा उत्रिएको र अनुवी नेता भएकाले चुनावी टिकटमा सहमति गरी नेतृत्वको विकल्प नभएको उनले बताए ।

अहिले सभापतिको समुहले केन्द्रिय सभापति देउवालाई देवत्वकरण गर्ने र अन्य बरिष्ठ नेताहरुलाई बेवास्ता गर्ने गरेकाले पनि समस्या भएको बताए । सिमित ब्यक्तिको घेरामा रहेका पार्टी सभापति गर्बुजालाई गएको निर्वाचनमा साथ दिएकाहरुले समेत यसपटक क्याम्प फेरेकाले सभापतिलाई सुरक्षित भएर निर्वाचनमा उम्मेदवार हुने वातावरण बनाउन समेत बानियाँ पक्षले अनुरोध गरेका छन् ।

उता पार्टी सभापति गर्बुजाले नेतृत्व गरेपछि जिल्लामा पार्टीको उपस्थिती बलियो भएकाले यसपटक निर्वाचनको मुखमा नेतृत्व परिवर्तन असम्भव भएको गर्बुजा निकट स्रोतको भनाई छ । ‘उहाँले पार्टीको जिम्मा लिने बेलाको अवस्थालाई हेर्न अनुरोध गछौं,‘जनमत र पार्टीका लागि यसपटक सर्वसम्मतिले चयन गर्नुपर्छ’ उनले भने ।

वडा, पालिकास्तरीय नेतृत्वमा गर्बुजा समर्थकले जितेपछि अर्का प्रत्यासी बानियाँ समुहबाट समेत विस्तारै यतै आउन थालेको बताए । ‘अहिले हल्ला गरेपनि अन्तिममा पार्टीमा सहमति हुन्छ,‘कम्यूनिष्टलाई कमजोर बनाउने बेलामा पार्टीभित्र गुट स्वीकार्य छैन’ उनले भने ।५ हजार जनमतबाट २१ हजारसम्म पुर्याउन सभापति गर्बुजाले खेलेको भूमिकालाई समेत स्मरण गर्न उनले अनुरोध गरे ।

प्रदेश निर्वाचनमा सहमतिको वातावरण बनाइरहेको अवस्थामा जिल्ला अधिवेशनमा समेत सहमति हुने सभापति गर्बुजा पक्षको भनाई छ । ‘जिल्लामा विपक्षीलाई गर्बुजा कमजोर भए हामीलाई सहज हुन्थ्यो भन्ने लागेको छ, पार्टीभित्रैबाट सोही चाहना पुरा गर्ने प्रयास भइरहेको छ’ उनले भने ।

गएको प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गर्बुजाले नेकपा एमाले र माओवादीको संयुक्त उम्मेदवारलाई कडा टक्कर दिएकाले पनि उनलाई दोहोराउँदा पार्टीलाई आगामी निर्वाचनमा सहज हुनेमा कांग्रेसका पुराना कार्यकर्ताको भनाई छ भने अघिल्लो निर्वाचनमा असहयोग गरेका पार्टीभित्रका केही अवसरबादी नेताहरूले अहिले सभापति गर्बुजालाई बोकेर हिडेकाले सचेत हुनुपर्नेमा नेताहरुको जोड ।

जिल्लामा रहेका ६ स्थानीय तहमध्ये चार वटामा सर्वसम्मत नेतृत्व चयन भएपनि बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा गर्वुजा र बानियाँ पक्षबिच चुनाबी प्रतिस्पर्धा भएको थियो । प्रदेश र जिल्ला अधिवेशनमा निर्वाचनमा होमिएपनि अन्तिमसम्म सहमतिको प्रयासमा भने दुवै टोलीका यूवा नेताहरूले सहमतिको प्रयास गर्ने जनाएका छन् ।

यसपटक जिल्लामा मतदान प्रक्रियाबाटै नेतृत्व चयन भएमा नजिकै रहेको स्थानीय तहको निर्वाचनसँगै प्रदेश र प्रतिनिधिसभामा समेत असर गर्ने कांग्रेसका जानकारहरू बताउँछन् । यसपटक जिल्लामा कांग्रेस र नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने करिब निश्चित जस्तै भएकाले कांग्रेसको जिल्ला नेतृत्वमा एकताको सन्देश दिन एक समुहले दवाव दिइरहेको छ ।

Leave a Reply