नेकपा एमाले बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट नारायण जिसी अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाभर मंगलबारदेखि सुरु भएको अधिवेशनमा अन्नपूर्ण गाउँपालिका बाहेक ४ स्थानीय तहमा नेतृत्व टुंगिएपनि बेनी नगरपालिकामा अध्यक्षमा नारायण जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले दावी गरेका थिए ।

बुधबार नेतृत्वमा सर्वसम्मत बनाउने गरी कार्यदलमार्फत सहमति जुटेपछि जिसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।कमिटीको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास बिश्वकर्मा, उपसचिवमा हिरा बहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको छ । नगर कमिटीमा अध्यक्ष सहित पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन पार्टीलाई हम्मेहम्मे परेको थियो ।

अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्र कुमार केसी बिच सहमति गराउनका लागि पार्टी नेतृत्वले सक्रियता देखाएपछि अन्तत सहमतिबाटै नेतृत्व चयन भएको नेकपा एमालेले जनाएको छ । अध्यक्षका प्रत्यासी केसीलाई पार्टीमा उचित जिम्मेवारी दिइने समेत सहमति भएको छ। अध्यक्ष जिसी निर्माण ब्यवसायीसँगै विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

गंगा जिसी फाउण्डेशनमार्फत म्याग्दीमा प्राकृतिक विपत्ती सहित शिक्षा, स्वास्थ्य तथा विपन्नको उपचारमा समेत सक्रिय रहनुभएका जिसीले आफ्नो जिम्मेबारीलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘पार्टी र सामाजिक कार्यलाई मैले उच्च प्राथमिकता राखेको छु,‘मैले आफ्नो क्षमताले भ्याएसम्म पार्टीलाई शक्तिशाली बनाउनै केन्द्रित हुन्छु’ अध्यक्ष जिसीले भन्नुभयो।

नगर कमिटी अध्यक्ष आगामी स्थानीय तहको निर्वाचनमा मेयरको प्रत्यासीका रुपमा समेत हेर्ने गरिन्छ । नेकपा एमालेबाट माधव नेपाल समुह अलग भएपछि पार्टी एक भएको सन्देश दिन समेत मतदान प्रक्रियामा नगई नेतृत्व टुंगाउनुपर्नेमा प्रतिनिधिको एकमत रहेको थियो ।

Leave a Reply