म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको बगुवाखोलामा सञ्चालित बालजागृति आधारभूत विद्यालयमा शनिबार श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । विद्यालयको आयोजना, म्याग्दी साहित्यिक समाज बेनी, पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको सहआयोजना र स्वर्गीय कार्की परिवारको प्रायोजनमा कार्यक्रम गरिएको हो ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक भक्त कार्कीको रहस्यमय ढङ्गले हत्या गरिएको द्वैमासिक पुण्यतिथिमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्व. कार्कीको तस्विरमा माल्यार्पण गर्दै नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले पछिल्लो समय समाजमा अपराधजन्य गतिविधि बढ्दै गैरहेकाले समाजमा घट्ने गलत प्रवृत्तिका विरुद्ध सबै सचेत हुनुपर्ने बताए ।

बेनी नगरपालिकाको स्रोतव्यक्ति समेत रहेका अध्यक्ष सुवेदीले गलत प्रवृत्तिका विरुद्धमा बोल्न नसक्ने हो भने अपराधले प्रोत्साहन पाउने बताउँदै गलत प्रवृत्तिका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने र बोल्नुपर्ने बताए । उनले शैक्षिक, साहित्यिक र सामाजिकलगायत विभिन्न संघसंस्थामा क्रियाशील भक्त सरको अमानवीय र रहस्यमय तरिकाले हत्या गरिएकोमा आपत्ति जनाउँँदै आगामी दिनमा कार्की परिवारलाई शिक्षक महासंघको तर्फदेखि आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।

परिवारको तर्फदेखि स्व. कार्कीका छोरा सञ्जय कार्की र बहिनी दुर्गा कार्की बानियाँले आफ्नो बुबा र दाजुको क्रुर तरिकाले हत्या गरिएकोमा घोर आपत्ति र भत्र्सना गर्दै हत्या गर्नेको पछाडि अदृश्य तत्व रहेकाले यसलाई समाजले समयमै चिन्नुपर्ने र उचित जवाफ दिनुपर्ने माग गरेका छन् ।कार्यक्रममा कार्की समाज बागलुङका अध्यक्ष प्रेमबहादुर कार्की, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था म्याग्दीका अध्यक्ष चित्रनाथ शर्मा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेल, म्याग्दीका वरिष्ठ साहित्यकार ध्रुवलाल शर्मा, बुलबुल साहित्य पत्रिकाका सम्पादक चन्द्रबहादुर लामिछाने, विद्यालयका पूर्व शिक्षक ओमबहादुर बानियाँ र स्थानीय मिनबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालयका कार्यवाहक प्रअ धनबहादुर क्षत्रीको अध्यक्षता, शिक्षकद्वय सन्दीप खत्रीको सञ्चालन र अमृता पौडेलको स्वागतमा सम्पन्न भएको थियो । विद्यालयको कामको सिलसिलामा विद्यालय आएको समयमा गएको असार ६ गते भक्त कार्कीको विद्यालय नजिकै म्याग्दीखोला किनारमा हत्या गरिएको भए पनि अहिलेसम्म शव भेटिएको छैन । हत्या गरेको आरोपमा सञ्जय बानियाँलाई प्रहरीले पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

Leave a Reply