गैरसरकारी संस्था मिलन म्याग्दीले संस्थाका सल्लाहकार अशोक बानियाँलाई सम्मान गरेको छ । शनिबार संस्थाको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मिलन म्याग्दीले संस्था स्थापना कालदेखि हालसम्म पु¥याएको योगदानको कदरसहित सम्मान गरिएको हो ।

२०५६ सालमा मिलन म्याग्दी स्थापना गर्नेदेखि संस्थालाई वर्तमान अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सल्लाहकार बानियाँलाई सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ । उहाँलाई मिलनका अध्यक्ष शिव बानियाँले दोसल्ला ओढाएर तथा निवर्तमान अध्यक्ष विनय श्रेष्ठले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहणपछि बोल्दै संस्थाका सल्लाहकार अशोक बानियाँले अहिलेको समयमा संस्थालाई डिजिटलाइज्ड गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समुदायको विकास तथा ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रममार्फत गैरसरकारी संघसंस्थाहरुले आवश्यक भूमिका खेलेको बताउँदै संस्थालाई दीगो रुपमा अगाडि बढाउनका लागि वैकल्पिक स्रोतका उपायहरुको खोजी र परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष शिव बानियाँले मिलनमार्फत विपद्का घटनामा संस्थाले आफ्नै स्रोतमार्फत बाढीपहिरो पीडितहरुलाई समेत सहयोग गर्दै आइरहेका बताउनुभयो । निवर्तमान अध्यक्ष विनय श्रेष्ठले मिलन म्याग्दीले विगतदेखि जिल्लाको दुरदराजमा पुगेर स्थानीयको जिविकोपार्जनमा सुधारदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर सुसूचित गर्दै आएको बताउनुभयो ।

संस्थाका कार्यकारी निर्देशक दिवाकुमारी पुनले स्वागतसहित संस्थाको स्थापनादेखि हालसम्म सञ्चालित गतिविधिबारे जानकारी गराएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलमाया बिटालुले गर्नुभएको थियो ।

संस्था स्थापना भएदेखि २३ वर्षको दौरानमा आइपुग्दा मिलन म्याग्दीले पछिल्लोपटक झोलुङ्गे पुल र सुआहारा कार्यक्रम सञ्चालन गरिरहेको छ । २०४४ सालमा एसएलसीमा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल बानियाँले समाजशास्त्र र मानव तथा प्राकृतिक स्रोत व्यवस्थापनमा त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ ।

यसैगरी नर्वेको नर्वेजियन विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट प्राकृतिक स्रोत व्यवस्थापनको अध्ययनसहित तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले हाल त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञान विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

२०४८ सालमा वन कार्यालय बझाङमा रेञ्जर पदमा सरकारी जागिर सुरु गर्नुभएका बानियाँ दीगो विकास कार्यक्रम म्याग्दीको संयोजक, वल्डवाइड फण्डको पवित्र हिमालय कार्यक्रमको प्रवन्धक र त्रिशुली जलविद्युत कम्पनीका वरिष्ठ वातावरणविद्को अनुभवी बानियाँ हरित उद्यमी पनि हुनुहुन्छ ।

Leave a Reply