विश्व रेडक्रस दिवसको अवसरमा शनिबार नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले मास्क र साबुन वितरण गरेको छ । रेडक्रस म्याग्दी शाखाको सहयोगमा पुलाचौर उपशाखाबाट एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यचौकी र पुलाचौरको विभिन्न टोलमा मास्क तथा साबुन वितरण गरिएको हो ।

नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गैरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेर स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रस उपशाखाका सभापति शिव बानियाँले बताउनुभयो । जिल्ला शाखाले उपलब्ध गराएको ५ सय थान मास्क र १ सय ५० गोटा साबुन टोल टोलमा पुगेर सचेतनामूलक अभियानसहित वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले रेडक्रसले समुदायस्तरमा सञ्चालन गरेको सचेतनामूलक कार्यक्रम सराह्रनीय रहेको बताउनुभयो । उहाँले वडास्तरमा रहेका सबै सामाजिक संघसंस्थाले सचेतनाका विभिन्न कार्यक्रम र अभियानहरु सञ्चालन गर्नुपर्ने बताउँदै वडा कार्यालयबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका संस्थापक सदस्य तथा पूर्व कोषाध्यक्ष बेनपा–५, चिप्लेटी निवासी हेमबहादुर खत्री (गोपाल)ले रेडक्रस उपशाखालाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा पुलाचौर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीद्वय अमृता विश्वकर्मा र सीमा घिमिेरेलाई रेडक्रसको तर्फदेखि धन्यवादज्ञापन गरिएको थियो ।

रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँको अध्यक्षता, सचिव रेशम बानियाँको सञ्चालन र कोषाध्यक्ष गिरेन्द्र बानियाँको स्वागतमा सम्पन्न कार्यक्रममा साविक पुलाचौर–४ का वडाध्यक्ष गणेशबहादुर हमाल, रेडक्रसका महिला विकास समिति कोषाध्यक्ष शान्ति पौडेल र विपद् व्यवस्थापन समिति सदस्य खड्गप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

Leave a Reply