म्याग्दीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर रोक्न घरबाट बाहिर निस्किदाँ सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

विदेशबाट आउनेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गृह मन्त्रालयको परिपत्र अनुसार म्याग्दी जिल्ला भित्र सार्वजनिक स्थानमा आवतजावत गर्दा तीन तहको कपडाको मास्क र मेडिकल मास्क अनिवार्य गरिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

‘हेल्चेक्राई नगरी मास्क अनिवार्य लगाउनुपर्छ,सेनिटाइजर लगाउने र भौतिक दूरी कायम गर्न समेत अपिल गरेका छौ’ प्रमुख लम्सालले बेनीअनलाइनलाई भने । उनले मास्कको प्रयोगले कोरोनाको संक्रमणबाट जोगिन सघाउने बताए ।

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा निकाय तथा कोरोना रोकथामसँग सम्बन्धित संस्थाका प्रतिनिधिको बैठकले विद्यालय र सार्वजनिक संघसंस्थामा स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, दुई मिटर अर्थात ६ फिटको दुरी कायम गरी आवतजावत गर्नुपर्ने लगायतका निर्णय भएको छ ।

मास्क नलगाउनेलाई संक्रमण रोक ऐन २०२० अनुसार कारवाही समेत गरिने जनाइएको छ । कोरोनाको जोखिम टरेको भन्दै म्याग्दीमा पछिल्लो समय मास्कको प्रयोग ह्वात्तै घटेको अवस्थामा प्रयोगका लागि सार्वजनिक सूचना सहित सबै स्थानीय तहको वडास्तरमै सचेतनामुलक अभियान सञ्चालन गरिने छ ।

कोरोना रोकथाक तथा नियन्त्रणका लागि बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षतामा जिल्लाका सबै स्थानीय तहका प्रमुख वा प्रतिनिधि सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको छ । उक्त समितिले कोरोना रोकथामका लागि सर्वसाधारण देखि सबै क्षेत्रमा मापदण्डको पालनाको अनुगमन समेत गर्ने जनाइएको छ ।

Leave a Reply