अब विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

छिमेकी राष्ट्र भारतबाट आएका मजदुरमा कोरोना पुष्टी भएपछि विदेशबाट आउने मजदुर र लामो समयका लागि घर विदानमा आएकालाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

बैठकले जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टाइन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने, बेनी अस्पतालमा चेकजाँचलाई ब्यवस्थित तथा भौतिक दुरी कायम गर्ने, हरेक निजी तथा सार्वजनिक संघसंस्था बाहिर अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णय भएको प्रमुख लम्सालले बताए ।

कोरोना संक्रममणको जोखिममा प्रदेशभित्र म्याग्दी समेत परेपछि प्रदेश सरकारले समेत कडाई गर्न निर्देशन दिएको छ । हाल सिमा क्षेत्रमा समेत कुनै अवरोध नहुने तथा नियमित हुने गतिविधिलाई सञ्चालनमा रोक नलगाउने भएपनि भिडभाड हुने कार्यक्रमहरु भने कडाई गरिएको छ ।

नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइरहेका बेला भारतबाट आएका मजदुरमा कोरोना पुष्टी भएपछि निर्माण सम्बन्धि कम्पनीलाई समेत सचेत बनाइएको छ । कोरोना परीक्षण तथा क्वारेन्टाइनमा नगरी काममा खटाइएको पाइएमा आवश्यक कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको छ ।

Leave a Reply