म्याग्दीको प्रख्यात धार्मिक गन्तव्य मालिकाधुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले लायन्स क्लब अफ बेनी पिस सिटीले हाइकिङ कार्यक्रम आयोजना गरेको छ। त्यसका लागि शुक्रबार बिहान बेनीबजारबाट हाइकर्स टोली मालिकातर्फ प्रस्थान गरिसकेको छ।

क्लबका संस्थापक अध्यक्ष एवं म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यका अनुसार बेनीबाट २६ जनाको टोली निस्किएको छ। मालिकाको काख विममा पुगेपछि मालिका गाउँपालिकाका प्रतिनिधि र स्थानीय समेत थपिएर गाउँको शिरानीबाट हाइकिङ सुरु हुनेछ। हाइकिङ टोली शुक्रबार साँझ मालिकाको धर्मशालामा क्याम्पिङ गरेर बस्नेछ। शनिबार बिहान मालिका दर्शन गरि बेनी फर्कने कार्यक्रम छ। टोलीको नेतृत्व क्लबका अध्यक्ष खमबहादुर थापाले गरेका छन्।

मालिकाधुरी (३,३५० मिटर) मा त्रिदेवीहरू मालिका, कालिका र जालिकाको बास छ। त्रिदेवीको दर्शनले मनोकामना पूरा हुन्छ। त्यसैले वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला डाँडामा मेला लाग्छ। डाँडाबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसँग आँखा जुधाउन पाइन्छ।

बासस्थलमा मन्दिर व्यवस्थापन समिति, गाउँपालिका र हाइकर्सबीच अन्तरक्रिया गर्ने योजना छ। पर्यटनकर्मी, पत्रकार र व्यवसायीको हाइकिङले मालिकाको प्रवद्र्धन हुने विश्वास गरिएको छ।क्लबले यस अघि झाँक्रीपानीलगायत म्याग्दीका विभिन्न गन्तव्यको प्रवद्र्धनमा योगदान पुर्‍याइसकेको छ। setopati.com

Leave a Reply