नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको धवलागिरि गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले देशमा केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न जनपक्षीय थुप्रै कामहरु गरेको बताए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य थापाले आफू सांसद भएपछि म्याग्दी जिल्लालाई हिमाली जिल्लामा सुचीकृत गर्ने पहल गरेको विद्युतीकरणका लागि पर्याप्त बजेट विनियोजनमा भूमिका खेलेको, जिल्लाको सडक, खानेपानी, शिक्षाका भवनलगायत थुप्रै क्षेत्रमा पर्याप्त बजेटसहित जनताले महशुस गर्नेगरी काम गरेको बताए ।

नेकपाका केन्द्रीय सदस्य नवराज शर्माले नेकपा भित्रैबाट केपी ओली सरकारलाई ढलाउने चलखेल भएपछि प्रधानमन्त्री ओलीले बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले बाध्यात्मक अवस्थाका कारणले गर्दा संसद विघटन भएकाले अब निर्वाचनको अर्को विकल्प नभएकोमा जोड दिएका थिए ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पालिकाभित्र विकास निर्माणसहित जनताको प्राथमिकतालाई केन्द्रमा राखेर कार्यक्रम र बजेट विनियोजन तथा परिचालन गरिएको बताएकी छन् । कार्यक्रम गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष रेशम छन्त्यालको सञ्चालन र नेकपाका स्थानीय नेता होमबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply