बेनी नगरपालिका-८,कालिपुलस्थीत प्रहरी चोकपोष्ट नजिकै टन्टलापुर घाममा उभिएकी पर्वतको जलजला गाउँपालिकाकी एक महिला चक्कर लागेर पुलमै ढलिन । बेनी अस्पतालमा उपचारमा लागि आएकी महिलालाई तत्कालै ट्राफिक प्रहरीले ट्याक्सीको ब्यवस्था गरे ।

करिब एकघण्टा चर्को घाममा बस्नुपर्दा महिलालाई समस्या देखिएपछि प्रहरीकै सक्रियतामा उनलाई अस्पतालका लागि अनुमति दिइयो ।

बिरामी महिलाको छेउमै लाइनमा बसेकी पर्वतबेनीकी एक बृद्धा महिला समेत चर्को घाममा लाइनमै बसेर कालिपुल बसपार्कमा रहेको ट्राफिक कार्यालयमा पुगिन् । करिब आधाघण्टाका लागि उनले तीनघण्टा खर्चिनुपर्यो ।

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकको निर्णय अनुसार बेनी प्रवेश गर्ने क्रममा पक्की पुलमा लामो समयसम्म उभिनुपर्दा समस्या भएको गुनासो गरेका छन् ।

 

‘कोरोनबाट जोगिन गरिएको प्रयासको सम्मान गछौं,‘अस्पतालको विवरण देखाउँदा समेत लाइनमै राख्दा दुख लाग्यो’ एक महिलाले भनिन् ।

छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकका विभिन्न वडाबाट स्वास्थ्य उपचार, किनमेल, जागिरका साथै ब्यापारका लागि दैनिक बेनीबजारमा आउनुपर्ने सर्वसाधारणलाई पर्वतका अन्य गाउँपालिका र विभिन्न जिल्लाबाट आउने सरह ब्यवहार गर्दा सास्ती भएको सर्वसाधारणले गुनासो गरेका छन् ।

जलजला–३ पर्वतबेनी र म्याग्दीको सदरमुकाम बेनीमा नियमित आवतजावत गर्नेहरुलाई सुरक्षा सावधानी अपनाएर हिड्न दिनुपर्ने बताएका छन् । ‘बेनीका कोठा छ,‘ पर्वतबेनीमा जागिर खान जानुपर्छ’ एनआईसी एशियामा कार्यरत अनिल पौडेलले भने ।

उनले दैनिक दुईतिनपटक आवतजावत गर्नुपर्ने अवस्थामा परिचय पत्र देखाउँदा समेत लाइनमा बस्दा समस्या भएकाले छोटो दुरीमा आवतजावत गर्नेलाई परिचय पत्रका आधारमा वारपार गर्न दिन समेत अनुरोध गरेका छन् । पर्वतको जलजला गाउँपालिकाको १ देखि ७ वडामा पर्ने वारीबेनी, मल्लाज, बाँसखर्क,लेकफाँट, शालिजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा निर्भर छन् ।यता छिमेकी जिल्लामा कोरोना समुदायमा फैलिएसँगै छिमेकी जिल्लासँग जोडिएको कालिपुल बाहेक सबै नाका बन्द गरिएको अवस्थामा आवतजावतमा केही कठिनाई भएपनि जोखिम नहुने गरी ब्यवस्थापन गरिने म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । ‘छोटो दुरीका सर्वसाधारणलाई सास्ती भएको गुनासो आएको छ,‘जोखिम छोटो दुरीबाट पनि धेरै छ, केही मापदण्ड बनाएर सहज गराउने प्रयासमा छौ’ प्रनाउ कुँवरले भने ।

म्याग्दीलाई कोरोनाबाट जोगाउन प्रहरीको चेकजाँच मात्रै सम्भव नभएकाले सबै सरोकारवाला निकायबाट समेत सहयोग आवश्यक रहेको बताए । बेनी प्रवेश गर्नेहरुलाई होल्डिंग सेन्टरमा राखेर ट्राभल हिस्ट्री लगायत आवश्यक ब्यक्तिगत विवरण लिएर सम्बन्धित स्थानीय तहको जिम्मामा होम क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा छोटो दुरीमा वारपार गर्नेका बारेमा थप छलफल भइरहेको प्रनाउ कुँवरको भनाई छ।यता जलजला गाउँपालिकाका प्रबक्ता एवम् वडा नं ३ का अध्यक्ष रबि भण्डारीले गाउँपालिका भित्रबाट बेनीबजारमा आवतजावत गर्नेलाई समस्या भएको गुनासो आएकाले परिचयपत्र र ब्यक्तिगत विवरणको आधारमा वारपार गर्न दिन अनुरोध गरेका छन् । उनले बेनीबजारमा दैनिक दशौंपटक आवतजावत गर्नुपर्ने अवस्थामा नाकामा भोग्नुपरेको झन्झटलाई अन्त्य गर्न गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताए ।

Leave a Reply