बेनी नगरपालिका–९, गलेश्वरस्थित मन्दिर तथा आसपासका ठाउँबाट नसालु पदार्थको प्रयोग गरी बनाइएको घोट्टा प्रहरीले बरामद गरेको छ । गलेश्वर मन्दिर आसपासका पसलमा ‘शिवजीको बुटी’ भन्दै बालबालिका देखि बृद्धबृद्धासम्मले मिनिरल पानीको बोतल बिक्री गरिएको घोट्टामा गाँजा, धतुरो र भाङ लगायत लागूपर्दाथको प्रयोग गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए । उनका अनुसार रक्सीजस्तै गरी बिक्रीको प्रयासलाई समेत सूचनाका आधारमा निगरानी गरी जफत गरिएको बताए ।

१ सय ३० लिटर घोट्टा बरामद गरी नष्ट गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा शुक्रबार गलेश्वर क्षेत्रबाट अवैध रुपमा दुधमा नसालु पदार्थ मिसाएर बनाएको घोट्टा बिक्री वितरण गरेको पाइएपछि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । नसालु पदार्थ गाँजा, चरेस र भाङ मिसाएर बोतलमा राखी बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा घोट्टा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मिनरल वाटरको बोतल तथा एउटा ड्रममा राखेको घोट्टा जफत गरेको थियो । उक्त बोतलमा रहेको घोट्टाको रङ गाढा र केही कम रहेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ । चाडपर्वको नाममा संस्कृतिभन्दा पनि बिकृति बढ्ने देखिएकाले घोट्टा नियन्त्रणमा लिएर नष्ट गरिएको भन्दै प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको थियो । यसैबीच शिवरात्रीको दिनपछि करिव एकसातासम्म प्रसादको नाममा बिक्री वितरण र प्रयोग हुनसक्ने भन्दै धार्मिकस्थल तथा आसपासका क्षेत्रमा निगरानी बढाएको छ ।

Leave a Reply