बेनी नगरपालिका–१, रत्नेचौरका दुर्गा बहादुर थापाको खरको छानो हटाएर नगरपालिकाले जस्तापाताले घर छाएपछि मख्ख छन् । पुरानो घरमा जस्तापाताले छाएपछि घरमै पुगेका वडा अध्यक्ष टेकबहादुर रावललाई धन्यवाद दिए । रत्नेचौरमा तीनवटा खरको छाना हटाएर जस्तापाताले छाउन नगरपालिकाले पूर्ण अनुदान उपलब्ध गराएको छ ।

नगरभित्रका सबै १० वडामा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन ७० लाख विनियोजन गरिएकोमा रत्नचौरबाट अभियान सुरू गरिएको हो । रत्नेचौरमा दुईवटा घर छाइसकिएको छ भने एक बाँकी रहेको वडा अध्ष्क्ष रावलले बताए । ‘जस्तपाताले छाएपछि उत्साहित छन्,‘घर नयाँजस्तै देखिएको छ’ रावलले भने । आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन नसकेका नगरपालिकाले प्राथमिकता दिएकाले नगरपालिकाभित्र खरको छानमुक्त घर बनाउने अभियान सुरु भएको मेयर हरिकुमार श्रेष्ठले बताए ।

‘खरको छानो भएका सबै घर जस्तापाताले छाउने हो,‘खरको छाना भएका घर रहले नभई बाध्यता हो’ मेयर श्रेष्ठले भने । उनले दलित, असहाय, विपन्न समुदायलाई प्राथमिकता दिएको बताए । उनले वडा कार्यालयमार्फत घरको विवरण संकलन गरिएको छ। खरको छानामा आगलागीको जोखिम भएकाले नगरपालिकाले सुरक्षित छानोमुनीको सन्देश समेत दिन खोजेको मेयर श्रेष्ठको भनाई छ ।

बजेटले अपुग भएमा आगामी आवमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । आर्थिक विपन्नताका कारण छानो फेर्न नसकेका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर, अर्थुङे, घतान र पात्लेखेतमा वडा कार्यालयमार्फत संकलन गरिएको विवरणका आधारमा विनियोजित बजेटले यसै आवमा धमाधम खरको छानो विस्थापित गरिने छ ।

Leave a Reply