सुनिल सुबेदी एतिहाँसिकस्थल ताकम कोतमा पुरातत्व विभागले ४५ लाखको लागतमा कलात्मक मन्दिर निर्माण सुरु गरेको छ । धवलागिरी गाउँपालिका–७ ताकमको शीरमा अवस्थित कोतमा पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्ने गरी छायास्वरी निर्माण प्रालि काभ्रेले असार मसान्तसम्म सम्पन्न गरी जगन्नाथ मन्दिर निर्माण गर्ने प्रालिका कुमार फुयालले बताए । मन्दिरमा रड, सिमेन्ट प्रयोग नगरी चुना, सुर्की, बालुबा, ढुङ्गा र काठको प्रयोग गरिने बताइएको छ ।

मुख्य मन्दिर तथा अन्य संरचनामा स्थानीयले चन्दा तथा विभिन्न संघसंस्थामार्फत जुटाएको सहयोगबाट भक्तपुर जिल्लामा विभिन्न आकृति भएका इट्टाको प्रयोग गरेका छन्। बाईसे चौबीसे राज्यका पालामा जस्तै देखिने गरी इट्टाको प्रयोगलाई प्राथमिकता दिएका स्थानीयले पुरातत्व विभागको सहयोगमा निर्मित मन्दिरलाई समेत कलात्मक बनाउन आवश्यक सहयोग गर्ने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

ताकमकोतमा भक्तपुरको इट्टासँगै बि.श १९९० को भुकम्पमा परेर मन्दिर भत्किएपछि पुरिएका पुराना इट्टा, पुराना काठ र कलात्मक ढुंगा समेत छन् । ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् । कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत रहेका छन् ।

Leave a Reply