बेनीका चम्किला तारा

बेनी–म्याग्दीको सदरमुकाम बेनी बजारस्थित हुलाकचोकबाट भित्र इन्द्रेणी टोल प्रवेश गरेपछि त्यहाँ सडक दायाँबायाँ पसल, रेष्टुराँ र होटल छन्। त्यही लहरमा ‘होटल लगिन’ को बोर्ड देखिन्छ। होटलको ढोकाबाट पस्ने बित्तिकै काउन्टर छेउको भित्तामा दुई जना बृद्धहरूको मुहारचित्र देखिन्छ। त्यसको ठिक मास्तिर दुई बालिका हाँसिरहेका छन्।

त्यस्तै अर्को छेउमा म्याग्दीको प्रख्यात हिलस्टेशन पुन हिलको चित्र छ। त्यसैगरी डाइनिङकै अर्को भित्तामा शान्ति दूत गौतम बुद्धको चित्र छ। सँगै पृष्ठभूमिमा हिमाल हाँसिरहेको गुरुङ गाउँको चित्रले स्वागत गर्छ। रेष्टुराँको भित्र लबीको भित्तामै चित्र कोरिएको छ। त्यहाँ एउटा हरियो रुखमा चरा बसिरहेका छन्।

ख्याल गरेर हेर्‍यो भने सबै चित्रको पिँधमा कलाकारको नाम लेखिएको देखिन्छ–ललिन्द्र। तैल रंग, पेन्सिल रंग र एक्रेलिक रंगको प्रयोगले बनाइएका सबै चित्रका चित्रकार ललिन्द्र थापा मगर हुन्। खास कुरो त कलाकार ललिन्द्र नै होटल लगिनका सञ्चालक हुन्। उनको होटलमा १२ वटा गेष्ट रुम छन्।

उनको कला मोह विचित्रकै छ। म्याग्दीको बरंजा गाउँमा जन्मे÷हुर्केका ललिन्द्र सानैदेखि कलामा होमिएका। गाउँकै महेन्द्ररत्न माविमा पढ्दैदेखि उनी चित्र बनाउँथे। उनका चित्र देखेर शिक्षक र साथीहरूले तारिफ गर्थे।विपन्न परिवारमा जन्मेका ललिन्द्रका अक्षर राम्रा थिए। कापि, कलम र खर्च जुटाउन उनी कक्षा ७ पढ्दैदेखि साइनबोर्डहरूमा लेख्थे। त्यस्तै भलिबल, फुटबल लगायतका खेलमा खेलाडिले लगाउने जर्सीहरूमा लेख्ने काम पनि गर्थे।ललिन्द्रलाई के ले बनायो त कलाकार ? ‘पेन्सिल र साइन पेनले किताबका चित्र उतार्थें’, ३० वर्षे मगर भन्छन्, ‘चित्रकारिता मेरो शौख हो।’

कलाकार बन्ने धोको मनमा थियो। तर, जीवनको दौडमा मान्छे कहिले कहाँ पुग्छ, कहिले कहाँ ! उनी पनि हानिए खाडितिर, ८ वर्ष विताए कतार र कुवेतमा। धेरै अनुभव सँगाले, केही कमाए र स्वदेश फर्के। अनि मनको अन्तरकुन्तरमा बाँचिरहेको कलाकारले उनलाई जागृत बनायो। उनले पोखरेली कलाकार आलोक गुरुङसँग महिना दिन कलाकर्म सिके।

नेपालमा थोरै कलाकार मात्र कलाकर्ममै रहेर गुजारा गरिरहेका छन्। ललिन्द्रलाई लाग्यो, ‘कलालाई नै पेशा बनाउन सकिँदैन। केही न केही काम गर्नु पर्‍यो।’ त्यसैले उनले अरुले चलाएको होटल किनेर छोरा लगिनको नाममा होटल सञ्चालन गर्न थालेका हुन्। जीवनसाथी बालकुमारीसँग मिलेर होटल चलाउँदै छन्।होटल खोलेपछि उनले चित्र बनाउन भ्याएका छैनन्। ‘चित्र मेरो रुचीको विषय हो। यसलाई छोड्न सक्दिनँ। फुर्सदमा बनाइरहनेछु’, ललिन्द्र भन्छन्, ‘चित्र बनाउँदा आत्मसंतुष्टि पाउँछु।’

उनी चित्रकार मात्र होइनन, राम्रा गजलकार पनि हुन्। उनको गजल संग्रह ‘स्मृतिका पल’ विसं २०६४ मा प्रकाशित भैसकेको छ। उनी कविता पनि लेख्छन्। अचेल उनी गजल फुर्नेवित्तिकै फेसबुकमा सेयर गर्छन्। छाप्ने नै हो भने एउटा संग्रह नै बन्छ होला भन्छन् उनी।बेनीबजार जिल्ला सदरमुकाम हो। यहाँका सरकारी तथा निजि संघ संस्था वा व्यक्तिले ललिन्द्र जस्ता कलाकारका चित्र किनेर आ–आफ्ना घर सजाउने हो भने धेरै राहत मिल्ने थियो। कलाकारलाई कलाले नै बचाउने थियो। यसमा समाज गम्भिर बन्नु पर्ने देखिन्छ। शुभकामना कलाकार ललिन्द्रलाई! Source: nepali.breaknlinks.com