डिम्ब आधारभूत विद्यालयको आयोजनामा शनिबार देउसीभैलोको आयव्यय सार्वजनिक, चन्दादाता सम्मान तथा शिक्षक स्वागत र विदाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटीमा सञ्चालित विद्यालयमा यसवर्ष तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलाबाट सङ्कलित रकम सार्वजनिक गरिएको हो ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा विद्यालयको आयोजनामा खेलिएको देउसी भैलाबाट सङ्कलित कुल तीनलाख ८३ हजार छ सय ९६ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षकहरुको तलब÷भत्ता व्यवस्थापनको उद्देश्यसहित खेलिएको देउसीभैलोमा सम्पूर्ण गाउँवासी, छिमेकी गाउँ र स्वदेश तथा विदेशबाट समेत आर्थिक सङ्कलन गरिएको थियो ।

देउसीभैलोको आयव्यय सार्वजनिक गर्ने दिनसम्म पनि स्थानीयले स्वतस्फूर्त रुपमा आर्थिक सहयोग गरेका छन् । विद्यालयको देउसीभैलो कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई अबिर र फुलमाला लगाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । यसैगरी देउसीभैलो कार्यक्रमका कलाकार र विद्यार्थीहरुलाई पनि नगद एवं शैक्षिक सामग्रीसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयमा नवआगन्तुक शिक्षकद्वय राधा रेग्मी आचार्य र फुलमाया श्रेष्ठलाई स्वागत गरिनुका साथै पूर्व शिक्षकद्वय सञ्जय कुँवर र राधिका खत्रीलाई विदाई गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले आधारभूत विद्यालयले देउसीभैलो खेलेर लाखौं रकम सङ्कलन गर्नु अनुकरणीय काम भएको बताए ।

उनले विद्यालय सबैको साझा संस्था भएकाले यसको विकासमा सबै सरोकार पक्षहरु मिलेर अगाडि बढ्नुपर्ने बताउँदै वडा कार्यालयको तर्फदेखि विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, प्रधानाध्यापक नारायण उपाध्यायको सञ्चालन र शिक्षक भरत कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी प्रताप बानियाँ र नवआगन्तुक शिक्षक राधा रेग्मी आचार्यले मन्तव्य राखेका थिए ।

Leave a Reply