आहा ! घोडेपानी र मोनाको त्यो महाधिबेशन

प्रदीप सुबेदी/असोजको महिना जतासुकै हरियाली ! खेतका गहरामा लह लह धान झुलिरहेका थिए । चारैतिर देखिने हिमालहरु मुस्कुराइरहेको देख्दा मन प्रफुल्ल हुन्थ्यो । दसैंको आगमन एकातिर भने अर्कोतिर प्रवासीहरुको घर फर्किने लहर संगै रोमान्चक बन्दै थियो गाउँघर ।

म पनि करिब डेढ बर्षपछी फर्किएको थिए जन्मघर । यसपाली हामी प्रवासमा बस्ने म्याग्देलीहरुको सामाजिक संस्था मोना को तेस्रो महाधिबेसन थियो घोडेपानी (अन्नपूर्ण गाउपालिका म्याग्दी) मा त्यसैले संसारका धेरै देशहरुबाट आएका धेरै म्यग्देली साथीहरु संग भेट हुने चाह बोकेर पनि यसपाली घोडेपानी जाने मन गरेको थिए मैले ।

म जस्तै इच्छा बोकेर साथमा हुनुहुन्थ्यो रुद्र रोका, सुबाश राम्जाली र कुमार कार्की युएई बाट प्रतिनिधित्व गर्दै घोडेपानी जाने भनेर । बेनी मोनामय भाईसकेको थियो हामी पनि असोज १३ गते घोडेपानी जानको लागि यती होटेलमा जम्मा भएका थियौ । त्यही भेट भयो कोरिया बाट आउनुहुने ओम नारायण जुग्जालीको टोली अस्ट्रेलिया बाट पाल्नुभएका मुक्ती रोका अनी युके बाट आउनुभएका दल जुग्जाली सरहरुको टोलिहरु संग । अन्य देशबाट आउने साथीहरु पहिले नै हिडिसक्नुभएको थाहा पाइयो अनी हामी पनि २ बजेतिर २ वटा गाडीमा यात्रा सुरु गर्यौ ।

म कहिले पनि गलेश्वर काटेर त्यतातिर गएको थिएन जती गाडीको रफ्तार बढेको थियो मेरा आँखाहरु त्यही रफ्तारमा बाहिरका दृस्यहरु नियालिरहेका थिए । कच्ची बाटो न्याक्दा र उफार्दा हामी जोडले अईया गर्दै चिच्याउथ्यौ । ओहो त्यो बैसरी !

कसरी बढारेको रहेछ कालीखोलाले अहिले ससाना पसलहरु जुर्मुराएर उठे जस्तो देखिएपनी त्यो बिकराल क्षतिको निशानी अझै बाँकी थियो । मुस्ताङ तिर बाट ब्यापारिले झारेका भेडाच्याङ्राले बाटोमा गाडीलाई अल्मलाई रहेका थिए । मुक्तिनाथ जोमसोम जस्तो पर्यटकिय ठाउमा जाने बाटोको हालत देख्दा मेरो देशले कसरी भ्रमण बर्षा २०२० सफल बनाउला भनेर सोच्न वाध्य भए ।
पोखरेबगर पुगेपछी खाजा पनि खानि
मोना अधिबेसन सफलपार्न घोडेपानी जानी
जाम सुस्तै नबोल्नेलाई बोलाउने म उस्तै

सुबाश सरले गीत गाउँने हामी छोप्ने गर्दै अगाडि बढीरहेका थियौ एक्कासी गाडी झ्याप्प रोकियो । मैले खाना खाएको छैन दस मिनेट पर्खीदिन परो है सरहरु भन्दै हातमा चुरोट सल्काउदै होटेल तिर छिरे चालक । हामी गाडी बाट निस्केर कालिको पारीपट्टी ठडिएको जब्बर पहाडका ढुङ्गाहरु हेर्दै थियौ गाडीमा एक हुल चिच्याउदै गीत गाउदै आए । ओहो ! कतारका साथीहरु (तिलु शर्मा, रमेश, बिक्रम, नरेन्द्र जिहरु ) को टोली पो रहेछ ।

अनलाइन च्याटहरुमा रुमल्लिने हाम्रा मनहरु प्रत्यक्ष्य एकाकार हुनपाउदा केहीबेर बातरबरण प्रेमिल हुन पुग्यो । पोखरेबगरमा कुर्ने र संगै खाजा खाने भन्दै उनिहरुको गाडीले तेज रफ्तार लियो हामी भने फेरी गीत गाउदै र सुसेली हालेर रमाइलो गर्न लाग्यौ । चालकले खाना खाइसकेपछी हाम्रो गाडी पनि हुईकियो धुलो उडाउदै ।

 

खाजाको मेसो नमिलेपछी पोखरेबगर पुगेर पनि त्यत्तिकै उकालो लागियो । गाडी नपाएर बाटोमा हुलका हुल मान्छेहरु उकालो लागिरहेका थिए । हाम्रो गाडी पुलुक्क हेर्दै ठाउँ भए लगिदिनु न भन्दै थिए ।

रिमझिम साँझ पर्न थालिसकेको थियो, पानी परेको हुनाले मौसम चिसो थियो । करिब १०० मिटर उकालो छिचोलेपछी हाम्रो पछाडि आईरहेको मुक्तीजी हरु चढेको गाडी ले तान्न सकेन । हामी सबै ओर्लिएर घुचाट्दै अनेक कोशीस गरियो तर अह गाडीका चक्का मात्रै घुमे तर लस्केको माटोमाथि उक्लिन सकेन ।

अर्को गाडी पाउने सम्भावना पनि थिएन त्यहाँका स्थानियहरुलाई कती समय लाग्छ भनेर सोधेको त गाडीमा अझै ४ घण्टा रे अनी हिंडेर पुग्ने त आँट गर्न सक्ने कुरै भएन । पैसा थपिदिए हाम्रो गाडीको चालकले लोड थप्ने कुरो गरे त्यसैलाई हो मा हैसे गर्दै कोही छतमा र पछाडि उभिएर पिकअप भ्यान उक्लियो ।

बाटो सिधै उकालो थियो पानी परेर ट्याकटरले बिगारेको हिलाम्य ट्र्याक तैपनी हाम्रो गुरु ले गर्जेर हिडाउदै थिए । रात छिप्पिदै थियो अध्यारो हामी माथि घोप्टिसकेको थियो अघी सम्मको हाम्रो जोस पनि कर्कालोको पात जस्तै ओईलाइरहेको थियो शायद भोकले सिठ्ठी फुकिसकेको थियो पेटमा । कच्ची बाटोमा उचालिदै न्याकिदै कानमा सुसेली हाल्दै बहने चिसो सिरेटोलाई सुम्सुमाउदै केही घण्टामा हामी घारा भन्ने ठाउमा पुग्यौ । भोक अतिनै लागेको ले केही खाने भनेर एउटा पसलमा रोकियौ । परिचय हुन नसकेका बिच पनि बाँकी परिचय भयो हामी १२ जना रहेछौ । लाग्थ्यो सबै गाडी अगाडि नै कुदिसकेछन ।

सबैलाई भोक लागेकोले मुक्ती जि ले २० वटा चाउचाउ पकाउन लगाउनु भयो । पेट तातो बनाइयो चाउचाउ खाएर अनी १५०० रुपैयाँ साहुनि लाई धेरै सस्तो रहेछ भनेर मुक्ती जि ले पैसा दिदा सबै गललल हाँसियो । शरीरमा अलिकती इनर्जी थपिएको महसुस गरे मैले । हाम्रो गाडी फेरी हेडलाइटको उज्यालोमा बाटो खोज्दै उक्लिरहयो चालक त्यो बाटो संग परीचित रहेछन, उनी आफ्नै रफ्तारमा थिए ।

ओहो कस्तो अप्ठ्यारो बाटो उकालो त्यसमाथी पानी परेको ले हिलो अनी खाल्टाखुल्टी । उताबाट आएको बुलेरोको चालकले सिखको बाटो नजाउ है बरु खिबाङको बाटो गए केही सजिलो हुने बताए पछी हाम्रो गाडी पनि त्यही बाटो मोडियो । अध्याँरो चुक थियो गाडीको लाइटमा जे जती देखियो बाटोको दुरदसा मात्रै ।

यती टाढा कार्यक्रम राखेकोमा समितीलाई गाली पनि गरिरहेका थियौ हामी । खिबाङ गाउको उकालो सकिनै लाग्दा हाम्रो गाडी घच्याक्क रोकियो हैन के भयो फेरी भन्दै हामी पछाडि बसेका ओर्लियौ । चालकले हेर्दा डिजलको ट्याङ्क प्वाल परेर सबै डिजेल चुहिएर सकिएछ अब फेरी अर्को फसाद । हामी सबैको मन अमिलो भैरहेको थियो ।

आकाशभरी कालो बादल मडारिरहेको थियो कतै पानी पर्ने हो कि भन्ने डर थियो ! पानी परेपछी झन बिजोग हुने थियो हाम्रो । ओम सरले अगाडि गएकाहरु संग फोनमा कुरा गरेर माथि गएको गाडी झर्ने कुरो भयो । केही बेरको पर्खाइ पछी हामीलाई लिन गाडी आयो । दुई चार दिन देखी त्यो भेगमा पानी परेकोले गर्दा बाटो बिग्रेको रहेछ ।

जनतामा आफ्नो ठाउँ बिकास र सुबिधाको तिब्र चाहना कती रहेछ भन्ने एक सानो नमुना ग्रामीण सडकहरुमा भरपुर देख्न पाईन्छ । मोनाको कार्यक्रमको प्रमुख अतिथी महिला तथा बालबालिका मन्त्री माननीय थममाया थापा पनि त्यही बाटो यात्रा गर्नु भएको थियो शायद उहाको मनले पनि जनतालाई भौतिक सुबिधाको आवश्यकता कती रहेछ भनेर एकपटक पक्कै सोचेहोला भन्ने मलाई आशा लाग्यो ।

करीब एक घण्टाको उकालो र चिप्लो बाटो छिचोलेपछी हाम्रो गाडी चित्रे भन्ने ठाउमा पुग्यो जहाँ अघी देखी नै गाडी बिग्रेर कतार र अध्यक्ष चक्र थापाको टोली अड्किरहेको रहेछ । हामी अझै अगाडि बढ्यौ तर गाडी उक्लिन धेरै ठाउमा घुचाट्नु र्पयो । केही माथी पुगेपछी हिलो बाटो आयो हामी भन्दा पहिला पुगेकाहरुको गाडी पनि त्यही सम्म पुगेर श्वास फेरिसकेको रहेछ । अब हिंड्नुको बिकल्प भएन ।

गाडीलाई त्यही हिसाब बुझाएर हाम्रो टोली आफ्नो आफ्नो झोला बोकेर उक्लियो चित्रे देखी । साथीहरुको खुट्टालाई जुकाले टोक्न पनि भ्याइसकेछ । रुद्रजी ले २० बर्षापछी जुकाले किस खान पायो हाम्रो पुनर्मिलन भयो भनेर भन्दा हामी एकपल हाँसियो मजाले ।

अली माथि उक्लेपछी अन्नपूर्ण होटेल लज रहेछ घडीमा रातको ११ बजेको थियो बास छ भनेर सोधेको सबै प्याक छ भन्ने कुरो भित्रै बाट जबाफ दिए अनी जसरी पनि पुगिन्छ नै भनेर हिंड्न लाग्यौ । खाडीमै बसेर काम गर्दा पेटमा बोसो निकै थुपारिएको रहेछ रुद्र जि र मलाई भने निकै सकस हुने देखियो त्यो उकालो । युके तिर का साथीहरु त कडा हुनुहुदोरहेछ हामीलाई छोडेर कुदिहाल्नु भयो उकालो अनी पछी पछी मुक्ती र ओमनारयण ज्युहरु पनि उक्लिनु भयो लास्टमा सुबाश म अनी रुद्र र कोरिया बाट आउनुहुने साथी धन घर्ति जि ।

दुई मिनेट हिड्यो कि छाती फुलेर आउने अनी बस्यो फेरी हिड्यो । आफ्नै ज्यान भारी भएको अवस्थामा झोला बोक्दा झनै गार्हो । मौसम चिसो त थियो नै त्यसमाथि हिलो बाटो, अन्धकार थियो मोबाइलको लाइटमा लौरो टेकेर जेनतेन उक्लियौ हामी घोडेपानी सम्म । प्रबेशद्वार नजिकै एउटा सानो पसल रहेछ रातिको १२ बजीसकेको थियो सुबाश जि ले ढोकै मा गएर सारो सारो बोलाए पछी एउटी बहिनी ले आँखा मिच्दै खोलिन ढोका । हामी लाई जाडो र भोक लागेको थियो चिया पकाइदिने अनुरोध गरेपछी ति बहिनी ले नाई भन्न् सकिन हामी पनि छिर्यौ घरभित्र । चिया र बिस्कुट खाए पछी ज्यानमा अलिकती परान थपिएजस्तै भयो ।

खुट्टामा टाँसिएका जुकाहरु खोजी खोजी खसालेर हिड्यौ त्यहा बाट ति बहिनी लाई धन्यवाद अनी भोली कार्यक्रममा आउने निमन्त्रणा दिएर । १० मिनेट मै हामी बस्ने होटेल आयो त्यहाँ पुग्दा हामी संगै हिंडेका साथीहरु खाना खाएर पनि सुत्न जानु भएछ । हामी पनि हतार हातार खाना खाएर सुत्न गयौ ।बिहान ७ बजे नै मेरा आँखा खुले साथीहरु अझ मस्त निन्द्रामै हुनुहुन्थ्यो । यसो झ्याल बाट हेरेको त सिम सिम पानी परीरहेको थियो साथै चिसो मौसम । डाँडा काँडा कुहिरोले छप्पकै ढाकेको थियो ।

केही साथीहरु उठेर कार्यक्रम स्थल तिर लागिसक्नु भएछ पनि । म उठेर चिसो पानी मै नुहाए अनी साथीहरुलाई उठाएर ८ बजे निस्कियौ त्यहा बाट । पानि पर्न रोकिएको थियो । जंग पुन दाई जो स्थानिय हुनुहुन्छ र मोना नेदरल्याण्ड को प्रतिनिधित्व गर्दै एक महिना पहिले देखी नै ब्यबस्थापन मा खटिनुभएको रहेछ उहाले हरेक देशबाट आएका मोनाका पाहुनाहरु लाई होटेलहरु बाँडेर राखिदिनु भएको रहेछ डिस्काउन्ट रेटमा । हामी युएई बाट गएको टोली होटेल टुक्चेमा झोलाहरु राखेर एकफन्को घोडेपानि घुमेर आउने भनी निस्कियौ ।

ओहो घोरेपानी पहाडको एक कुनामा ब्यबस्थित, आधुनिक होटेल तथा लजहरुले भरिएर थुचुक्क बसेको वरीपरी सेताम्मे हिमालहरु देखिने मनमोहक डाँडो । यसको परीकल्पना मेजर टेक बहादुर पुन ले गर्नु भएको भनेर जान्न पायौ। यहाँ बाट अझै ४५ मिनेट जती उक्लिएपछी बल्ल आउदोरहेछ पर्यटकहरु उर्लिने ठाउँ पुनहिल । हामी कार्यक्रमस्थल पुग्दा लाग्थ्यो घोरेपानी दुलही बनेर हामीलाई नै पर्खिरहेकी छिन् । मोनाका ब्यानरहरु, रंगिचङ्गी धजापतकाहरु ले सिंगारिएको ग्राउण्ड देख्दा स्थानियहरु हामीलाई स्वागत गर्न आतुर हुनुहुन्छ जस्तो लाग्दैथियो ।

हामी होटेल फर्केर रेडी हुन थाल्यौ उता बाजा बज्न थाले । सबैलाई छिटो गरेर आउन कार्यक्रम ब्यबस्थापकको फोन आईरहेको थियो । हामी चौरमा पुग्दा सबै मन्त्री ज्युलाई लिएर घोरेपानी परीक्रमा गर्न थालेका थिए । सुबाशजी ले युएई को र नेपालको झन्डा बोकेर खुसुक्क हुलमा मिसिनु भयो हामी पनि पछी पछी अनी त्यहाका आमासमुहले माला लगाइदिदा ओहो हामी त पाहुना पो बनिएछ त ।

स्थानियहरुको माया र स्वागतलाई सम्मान गर्दै हामी कार्यक्रमतिरै ब्यस्त बन्यौ । हाम्रो उदेस्य नै संस्थालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने नै थियो त्यसको लागि बलियो नेतृत्व चुन्नको लागि हामी घोडेपानी पुगेका थियौ । यस कार्यक्रममा मन्त्री ज्यु जिल्लाका सिडियो, जनप्रतिनिधीहरु, राजनैतीक दलका नेताहरु,समाजसेविहरु, पत्रकारहरु तथा कलाकारहरुको उल्लेखनिय उपस्थिती थियो ।

चिनेजाने जतिका ब्यक्तिहरुसंग हात मिलाइयो,र भलाकुसारी गरियो । स्थानियले प्रस्तुत गरेको कौडा नाँच, मरुनी नाँच र सालैजो नाँच निकै मन र्पयो । केही बेर म्याग्दीका लोकगायक तथा हाँस्यकलाकार रबी कार्किले पनि तताए हामीलाई जाडोमा ।

साँझतिर नजिकैको खाजाघर छिरेको भेना भनेर केही युबतीहरुले जिस्काउन थाले अनी दोहोरी पो चल्न थाल्यो । हाम्रो सुबाश जि कस्सिहाल्नु भयो
मन पारे छेउकै कालीलाई
दिए लान्थे माइजुले सालीलाई
गलबन्दी च्यातियो……………

आँखा नलाउ घोरेपानीमा अर्किलाई
के गर्छौ भान्जा उताकी घरकी लाई
पछ्यौरी च्यातियो ……………….
प्लेटमा मोमो राख्दै जवाफ दिनु भयो होटेल साहुनीले । केही बेर साली नानीहरु संग दोहोरी खेलियो हामीलाई साथ दिनु भयो अध्यक्ष चक्र थापा, बेल्जियमका शिव बरुवाल,अस्ट्रेलियाका मुक्ती रोका ज्युहरुले । निकै रमाइलोको अनुभुती हुन थाल्यो । दिउसो समय नपुगेको ले गर्दा रातिमा कलाकारहरुको प्रस्तुती थियो । चौरमा पञ्चे बाजा घन्किरहेको थियो त्यतै उक्लियौ फेरी ।

स्पेन तिर बाट पाल्नुभएकी नैना दिदी हन्कङबाट पाल्नुभएकी आसा दिदी कतारका साथीहरु चित्रेतिरका केही थान सालीहरु अनी हामी सबै मिलेर एकछिन उफ्रियौ बाजातालमा । लाग्छ जिबनमा त्यो पल अब फेरी आउने छैन । राती १२ बजेतिर म फर्किएर होटेलको कोठामा सुते साथीहरु निकै अबेर सम्म रमाइलो गरेर फर्किएछन । भोलिपल्ट हाम्रो बन्दसत्र थियो बिहानै देखी होटेल आसामा ब्यस्त भयौ । घनिभुत छलफल गरेर भाँडालाई भन्दा बढी माझेर अन्तत राती ३ बजेतिर संस्थाले ओम नारायण जुग्जाली को नेतृत्वमा नयाँ कार्यसमिती पायो ।

त्यसपछी केही साथीहरु माथि पुन हिल उक्लने भनेर हिंडे हामी भुँडिवालाहरु ले हिम्मत गर्न सकिएन अर्कोतिर निन्द्राले पेलेको थियो । होटेल फर्किएर सुतियो तर बिहान उठेर फेसबुक हेर्दा साथीहरु पुन हिल पुगेको फोटो हेर्दा भने मनमा चुकचुक लाग्यो त्यहा सम्म नपुगेको मा ।

कतारका तिलु शर्माहरुको टोली युकेको लाल पुन जिहरुको टोली, हङ्कङ्गका ईन्द्र एलजी हरुको टोली सबै पो पुगेछन हामी युएई को टोली भने होटेलको बराण्डामा चिया पिउदै कुहिरो भित्र देखिएका मनमोहक हिमश्रिङ्गखलाहरु हेरेर चित्त बुझाईयो । करिब ७ वटा हिमाल आँखै अगाडि देखिने पुनहिल घुम्न विश्वका धेरै पर्यटकहरु घोडेपानीका होटेलहरुमा बास बसेको देखियो ।

घोडेपानी पुगेको तेस्रो दिन अर्थात हामी घर फर्किने दिन । निर्वाचित कार्यसमितिको सपथ तथा कार्यक्रम समापन संगै मोना भलिबल कपको फाइनल खेलहरु पनि थियो सबै सकिदा ३ बजिहाल्यो ।

धेरै पाहुनाहरु कार्यक्रम नसकिदै फर्किसक्नु भएको रहेछ । हाम्रा अध्यक्ष रुद्र जि ले फर्किदा काम्तिमा नि सालीहरुको हातले दिएको कफी पिएर जाउ भन्दै हामी सबैलाई नजिकै को कान्लामा हाम्रै लागि राखिएको रेस्टुरेन्टमा लिएर जानु भयो । त्यही कतारका साथीहरु नरेन्द्र फगामी रमेश पौडेल जि हरु पनि हुनुहुदो रहेछ तातो कफी खाँदै सालीहरु संग तातो तातो गीत पनि गाइयो । त्यतिनै बेला कसैले गाडी छुट्न लागेको समाचार दियो अनी त्यहाँ बिदाईको हात हल्लाउदै फटाफट लागे साथीहरु हामी पनि होटेल टुक्चेमा छिरेर हिसाब तिरिवरि निस्कियौ ।

तल झर्दा गाडी सबै गैसकेछन अब हामी १२ जना मात्रै बाँकी । पोर्तुगलका सुर्जे दाइले हिंडेर चित्रे सम्म जाउ गाडी तलबाट आउछ रे भने पछी सबै ओरालो हिंड्न थाल्यौ । आखिर हिंड्नै त लेखेको रहेछ हामीलाई आउँदा पनि जादा पनि भन्दै घुँडा मा हात राख्दै ओरालो झर्दै थियौ हामी, अली तल पुगेको त हामी संग दोहोरी गीत गाउँने सालीहरुको एकहुल झर्दै रहेछ ।

उनिहरुले गार्हो नमानी हाम्रो झोलाहरु बोकिदिए, हामी संग हाँस्दै गीतहरु गाइदिए रत रमाइलो हुँदैगयो हाम्रो हिडाई, दुखेन हिडाइको पिडा खुट्टामा । तल अन्नपूर्ण लजमा पुगेर चिया खाँदै गाडी कुर्न थाल्यौ तर कुनै गाडी आएन तलतिर पुग्नुभएका साथीहरुलाई फोन गर्दा आउँदैछ होला भन्ने जबाफ आयो । यस्तै चाला हो भने आज यतै बास बस्नु पर्ने भयो भन्दै कुवेत बाट आउनुहुने दिपक छन्त्याल जि मुसुँक्क हाँसेको देखेर कालेकी बुढी (परिचय गर्दा दिएको नाम) ले चिनेका गाडीवलालाई फोन गरिदिनु भयो अनी २ वटा गाडी आउने भए हामीलाई लिन । त्यहा बाट हामी ओरालो झर्न थाल्यौ जहाँ गाडी आउछ त्यही बाट चढौला भन्दै ।

एकछिन झरेपछी तिनै कालेकी बुढीको घर आयो त्यती बेला ५ बजिसकेको थियो आकाश रुन खोज्दैथियो । एक दर्को पानी परेरै छोड्यो शरीरमा चिसो बढाउन । त्यही नजिकै घरकी एउटी बुढी आमालाई माइजु मकै भुटिदिनु न भनेर रुद्र जि ले साईनो लगाउनु भयो । एकछिनमा माया गरेर आमाले भुटेर दिएको मकै खाँदै ,कालेकी बुढीले मरिच हालेर बनाइदिएको कालो चिया पिउदै हामी गीत गाउँन र नाँच्न थाल्यौ ।

गाडी आउँदा सिमसिम पानी संगै रिमझिम साँझ परिसकेको थियो । अब कुलेलाम ठोक्नुको बिकल्प थिएन । चियाको र मकैको पैसा लिन मान्नु भएन उहाँहरु । यहाँ पनि म्याग्देली मनहरु देख्दा दिलमा खुशीको एउटा फुल फक्रियो । उहाँहरुलाई सम्मान गर्दै सबै संग बिदा मागेर हाम्रो यात्र बेनी तिर सोझियो । गाडी चालक अर्मन तिरका रुद्र जि ले चिनेकै परेछन घोडेपानी तिरका निकै रमाइला किस्साहरु सुनाउदै ल्यएर आए ।

रात छिप्पिदै थियो हामी झर्दै गर्दा, बाटो उस्तै अप्ठ्यारो थियो र खाल्टाखुल्टी थियो । अंध्यारोमा घारा गाउँ बिजुली बत्ती बालेर चम्किरहेको थियो । पोखरेबगर आउँदा जोमसोमतिर बाट धेरै गाडी घुईकिरहेका थिए । कच्ची सडक धुलो उडाउदै हिडियो अनी कारीब ११ बजे बेनी बजार आएर डल्फिन होटेलमा बास बसियो ।

जिबनमा गरिएका यात्राहरु मध्य अदभुत अनुभुतिहरु संगाल्न पाइयो घोडेपानीको यात्रामा । एक त पर्यटकिय क्षेत्र देख्न पाइयो अर्को तिर त्याहाँका स्थानियहरु को ब्यापारमा देखाउने लगाबले मोहित बनायो । आमासमुहले गरेको स्वागत, जंग दाइले गर्नु भएको मेहनत, कलाकारहरुको प्रस्तुती, होटेल ब्यबसायिहरुको मिठो खाना संगै देखाउने राम्रो व्यबहार ले घोडेपानी को माया अग्लिदै गयो मेरो दिलमा । म त भन्छु हरेक म्याग्देली एकपटक घोडेपानी पुन हिल पुगौ आफ्नै ठाउहरु घुमौ अनी रमाऔ । यती बेला ज्यान नेपालको बसाइ सकेर कर्मभुमी फर्किसकेको छ तर मन तिनै हिमश्रिन्खलाहरु, तिनै पाँखापखेराहरु अनी गाउ पधेरा तिरै दौडिरहेको छ ।

सम्झिरहेको छु मेरा आदरणियहरु युकेतिर बस्नुहुने लालु पुन, पदम गर्बुजा,किसन जिसी, दल जुग्जाली, भक्त रोका ज्युहरु, हन्कङबासी ईन्द्र एल्जी थापा,प्रकास पुन, आसा पाइजा, तुल्मराज ज्युहरु बेल्जियमका कुलबहादुर जि, पोर्तुगलका सुर्जे दाई, जापानका महेन्द्र दाई तथा अमृता भाउजु, अस्ट्रेलियाका मुक्ती र हरी जि त्यस्तै कोरियाका धन बहादुर घर्ति, ओम सर अनी कतारका प्रिय मित्रहरु तिलु शर्मा बिक्रम कार्की रमेश पौडेल नरेन्द्र फगामी अनी कुवेतका दिपक छन्त्याल ज्यु तथा यहाँ नाम उल्लेख गर्न छुटेपनी घोडेपानी मा कटाक्ष भेट हुनुभएका मोनाका सम्पूर्ण अग्रजहरु ज्युहरु लाई । हार्दिक नमन !! जदौ !!म्यााग्दी हालः युएई