सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो कहाँ उल्टै हाइपोनेट्रिमिया हुन पुग्यो ।

हाइपोनेट्रिमिया भनेको रगतमा सोडियम (नून)को मात्रा अति कम हुनु हो । रगतमा सोडियमको मात्रा निकै कम भयो भने कोषिकाहरुमा पानी रोक्ने शक्ति कम हुन्छ र शरीरले पानी थेगिराख्न सक्तैन ।सोडियमले मस्तिष्कलाई सतर्क राख्न अहं भूमिका खेल्छ । रगतमा सोडियमको मात्रा एउटा निश्चित स्तरभन्दा कम हुन थाल्दा मानिस बेहोस हुन सक्छ । मुटुको गति तीव्र हुन सक्छ ।

मेडिकल जर्नल बिएमजे केस रिपोर्टकाअनुसार कुनै पनि स्वस्थ व्यक्तिमा रगतमा सोडियमको मात्रा कम हुनु निकै ‘असामान्य’ कुरा हो । रिपोर्टका अनुसार, ‘रोगीहरुले आवश्यकताभन्दा बढी तरल पदार्थ पिउने अवस्थामा चिकित्सकहरुको सल्लाह लिनु अति जरुरी हुन्छ । बढी पानी अथवा तरल पदार्थ पिउँदा के हुन्छ भन्नेबारे निकै कम शोध भएका छन् । त्यसैले यसका फाइदा वा बेफाइदाका बारेमा पनि निकै कम जारी छ ।’

चिकित्सा विशेषज्ञहरुका अनुसार लगातार पानी पिउनु राम्रो कुरा हो तर धेरै पानी पिइरहनु चाहिँ स्वास्थ्यका लागि राम्रो कुरा होइन । खासगरी बढीभन्दा बढी पिसाना आइरहेको छ, ज्वरो आइरहेको छ भने पानी पिउनेबारे चिकित्सकसँग सल्लाह लिनु पर्छ ।

चिकित्सकहरुले पनि यस्तो अवस्थामा बिरामीहरुको अवस्था जाँचीकन सावधानीपूर्वक सल्लाह दिनुपर्छ । बिबिसीका अनुसार बढी पानी पिउँदा स्वास्थ्यलाई नै खतरा भएकी ती महिलालाई लन्डनस्थित एएन्डई अस्पतालमा भर्ती गरिएको थियो । पानी पिएको केही समयमै उनलाई रिँगटा चल्न थाल्यो । उनलाई बोल्नमा समस्या हुन थाल्यो । र, अन्त्यमा ती महिलाले कैयौँ पटक उल्टी पनि गरिन् । ती महिलाले भनेकी छन्, ‘मेरो हात काम्न थाल्यो, किन काम्न थाल्यो र कसरी रोक्ने भन्नेमै म अलमलमा पर्न थालेँ । पछि त शरीरै काम्न थाल्यो ।’

पछि चिकित्सकहरुको सोधखोजपछि पत्ता लाग्यो, ती महिलाले चिकित्सककै सल्लाहमा केही घण्टाभित्रै निकै पानी पिएकी थिइन् । धेरै पानी पिएका कारण उनमा यस्तो अवस्था देखिएको पत्ता लागेपछि चिकित्सकहरुले उनलाई २४ घण्टासम्म पानी नपिउने सल्लाह दिएका थिए । यसपछि ती महिलालाई पूरै सामान्य हुन एक साता लागेको थियो । यस्तै अर्को एउटा घटनामा गेस्ट्रोएन्टराइटिसका रोगीलाई पनि हाइपोनेट्रिमिया हुन पुगेको थियो । उनको त ज्यान नै गएको चिकित्सकहरु बताउँछन् ।किङ्स कलेज लन्डनका प्राध्यापक एमेरिटस टम सेन्डर्स भन्छन्, ‘पानी पिउने सल्लाह गलत होइन र बिरामीको छेउमा पर्याप्त पानी पनि हुनुपर्छ । उनीहरुलाई बरोबर पानी पिउन प्रोत्साहित पनि गर्नुपर्छ ।’

क्विन्स युनिभर्सिटी बेल्फास्टका प्राध्यापक ग्राहम फेस भन्छन्, ‘यस घटनाले हामीलाई पाठ सिकाएको छ । त्यो के भन्देखिन्, चिकित्सकहरुले सल्लाह दिँदा अतिरिक्त सावधानी अपनाउनु निकै आवश्यक छ । चिकित्सकहरुले प्रत्येक केसका बारेमा पूर्ण जानकारी पाएपछि मात्र पानी पिउने, कति पिउने, कसरी पिउनेजस्ता कुराहरु बिरामीहरुलाई सल्लाह दिनुपर्छ । रोगीहरुले कुन परिस्थितिमा कति पानी पिउने भन्नेबारे अलि राम्रो सल्लाह दिनुपर्छ ।’

ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार हामीले खाना खाँदा करिब २० प्रतिशत पानी ग्रहण गरिसकेका हुन्छौँ । महिलाहरुले प्रतिदिन १६ सय एमएल र पुरुषहरुलाई दुई लिटर पानी पिउनु आवश्यक छ । समुचित मात्रामा हामीले पानी पिएको खण्डमा हाम्रो पिसाबको रङ हल्का पहेँलो हुन्छ । यदि पिसाबको रङ गाढा छ भने चाहिँ हामीले बढी पानी पिउनु पर्छ ।
बिबिसी हेल्थ

Leave a Reply