धौलागिरी क्षेत्रको कायापलट गर्न सक्ने अपेक्षा गरिएको मुस्ताङको कोरला नाकाको चीन तर्फको सडक कालोपत्रे गरिएको छ भने नेपालतर्फ ८० प्रतिशत ग्राभेल गरिएको छ । नेपाल–चीन सीमा अन्तर्गत पर्ने मुस्ताङको कोरला नाका सञ्चालन गर्नका लागि चीनले आँफ्नो भू-भागमा सडक पुरै कालोपत्रे गरिसकेको छ।

चिनियाँ राष्ट्रपति सी चिनपिङको यसै साता भएको नेपाल भ्रमणमा कोरला नाका सञ्चालनका सम्बन्धमा समेत कार्यसूची समावेश गरिए पनि समग्रतामा सिमापार कनेक्टिभिटीको कामलाई अघि बढाउने भन्ने सहमति भएको छ । यसबारेमा दुई देशको मन्त्रालयगत तहबाट अब काम अघि बढ्ने बताइएको छ ।

नेपालसँग दीर्घकालीन रूपमा व्यापार गर्न चीनले समेत प्राथमिकतामा राखेको कोरला नाकामा सडक लगायत अन्य भौतिक पूर्वाधार विकासको काम द्रुत गतिमा अगाडि बढाइएको हो। चीनतर्फ सडक कालोपत्रका साथै भन्सार कार्यालय, क्वारेन्टाइन पोस्टलगायतका पूर्वाधार विकासको काम करिब सम्पन्न गरेको छ। चीनतर्फ नाका खुला गर्नका लागि करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको स्रोतले जानकारी दियो। चीनले नाकामा ३ तला अण्डर ग्राउण्ड सहित पाँच तले भन्सार कार्यालय भवन तथा अन्य भौतिक संरचना निर्माण गरेको छ।

नेपालतर्फ पनि नाका खुलाउनका लागि आवश्यक पूर्वाधार विकासको काम भइरहेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधर विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालतर्फ पनि कोरला नाका तर्फको सडक ग्राभेलको काम भइरहेको छ। ‘नेपाल तर्फको पनि नाकाको सडक ग्राभेल गर्ने काम ८० प्रतिशतभन्दा धेरै सम्पन्न भइसक्यो’ विष्टले भन्नुभयो, ुनाकामा भन्सार कार्यालय, क्वारेन्टाइन पोष्ट निर्माण लगायतका काम चाडै अघि बढ्छ।

सरकारले कोरला नाकामा भन्सार कार्यालय स्थापनाका लागि बजेट बिनियोजन गरिसकेको छ।नाकामा आवश्यक पूर्वाधार विकासका लागि १४ सय रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रशारण लाइन विस्तारको काम द्रुत गतिमा अगाडि बढाइरहेको छ। प्राधिकरणले गण्डकी कोरिडोर विस्तार गर्दै कोरला नाकासम्म प्रसारण लाइन पुर्‍याउने गरी काम गरिरहेको छ।

यो नाका सञ्चालनमा आए नेपाल र चीनबीच व्यापार विस्तारका लागि धेरै सहज हुने प्रदेशसभा सदस्य विष्टले बताउनुभयो। यो नाकाबाट तिब्बतको बस्तीसमेत नजिक भएका कारण मुलुकले यसको लाभ लिनसक्ने उहाँको भनाइ छ। नेपालतर्फको सडकको स्तर गतिलो नहुँदा नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। चीनले वर्षमा दुई पटक मात्र कोरला नाका खुला गर्ने गरेको छ।

चीनतर्फ लागेको व्यापार मेला आउजाउ गर्न पनि मुस्ताङवासीलाई सडककै कारण सास्ती छ। चीनले आफ्नो भूभागको सडकमा सवारी सञ्चालन गरिरहेको छ। मेला स्थलसम्म चीनबाट सवारी आए पनि नेपालले आँफ्नो तर्फ सडक लगायतका पूर्वाधार निर्माण गर्न नसक्दा नाका खुले पनि व्यापारीले चाहे अनुसारका सामान ल्याउन नसकेको गुनासो गरेका छन्। Source: आदर्श अनलाइन

Leave a Reply