हिमालपारिको जिल्लाको मुस्ताङको तापक्रम माइनस १६ डिग्री पुगेपछि जनजीवन कष्टकर बनेको छ। दुई दिनअघि परेको हिउँ अझैसम्म पनि नपग्लिएका कारण चिसोले जनजीवन कष्टकर बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।  ‘हिजो र आज त हिउँ परेको छैन,’ रेग्मीले भने, ‘दुई दिनअघि परेको हिउँ अझै पनि नपग्लिएका कारण चिसो अत्यधिक छ।’ उनका अनुसार मुस्ताङको कम तापक्रम शुक्रबार राति तापक्रम माइनस १६ डिग्री मापन गरिएको छ।

शनिबार बिहानको तापक्रम माइनस सात डिग्री रहेको छ।  दिउँसो घाम लाग्ने र आकाश खुल्ने गरेका कारण तपाक्रम माइनस एकदेखि शून्य डिग्रीसम्म सेल्सियस रहने गरेको छ। दुई दिनअघि परेको हिउँले चिसोका कारण खोलाका पानी पनि जमेको छ। मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार चिसोका कारण सर्वसाधरणहरु घरबाट बाहिर निस्केका छैनन्। ‘चिसोका कारण सर्वसाधारहरु घरबाहिर निस्कने अवस्था छैन,’ निमित्ति प्रजिअ रेग्मीले भने, ‘सबै घरभित्रै आगो तापेर दिन बिताउँछन्।’

उनका अनुसार मुस्ताङको तल्लोभन्दा उपल्लो मुस्ताङमा बढी चिसो भएको छ।  प्रायः हावा पनि चलिरहने भएका कारण मुस्ताङमा बढी चिसो हुन्छ। हिउँ परेको बेलामा समेत हावा चल्दा चिसोले बढी साताउँछ। तर, दुई दिनदेखि तीव्र गतिमा हावा नचलेका कारण केही राहत भएको निमित्त प्रजिअ रेग्मीले बताए। जिल्ला प्रशासन कार्यालयले चिसोका कारण ज्यानै जान सक्ने भएका कारण बालबालिका, वृद्धवृद्धा तथा रोगीहरुलाई विशेष ध्यान दिन सर्वसाधारणहरुलाई अनुरोध गरेको छ। thahakhabar.com