धु्रबसागर शर्मा
असह्य गरिबी र उचित अभिभावकीय रेखदेख भएन भने बालबालिकाहरुको कलिलो मस्तिष्कमा कतिसम्मका मर्मस्पर्शी विचारहरु उत्पन्न हुँदा रहेछन् भन्ने कुराको उदाहरण म्याग्दीकी एक बालिका बनेकी छन् । बेनी नगरपालिका वडा नं–६ फोओटेकी कक्षा ६ मा अध्ययनरत पूजा खत्रीले आफूले पढ्ने विद्यालय जामुनाखर्क माविलाई चिठी लेखेर किताव कापी किन्ने पैसा र घरमा खाने खर्च समेत नभएकोले आफू विद्यालय आउन नसक्ने बताउँदै ‘सर मलाई रेस्टिगेट गरिदिनु’ भनेर पत्र लेखेकी हुन् ।

खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको र पारिवारीक वातावरण समेत नभएकाले आफूलाई विद्यालयबाट निस्कासित गर्न अनुरोध सहित विद्यालयलाई भावुक पत्र पठाएपछि विद्यालय परिवार समेत चिन्तित बनेको थियो । विद्यालयलाई भदौ १ गतेको मितिमा खत्रीले लेखेको चिठी अत्यन्त भावुक र मर्मस्पर्शी छ ।

पत्रमा उनले ‘घरमा खाने खर्च र पढ्नका लागि कापी कलम समेत नभएकोले बाध्यताले विद्यालयमा आउन नसकेको र आफूलाई पढाइ दिने कोही पनि नभएकोले रेस्टिगेट गरिदिन अनुरोध गर्दछु’ लेखेकी छन् । भदौ ५ गतेबाट विद्यालयमा त्रैमासिक परिक्षा सुरु हुने भएपछि विद्यालयले खत्रीलाई विद्यालयमा आउन र परीक्षामा सामेल हुन उनका साथीहरु मार्फत खवर पठाएपछि उनले विद्यालयलाई भाबुक पत्र पठाएकी जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बताए । खत्री गाउँको विद्यामन्दिर आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरि ६ कक्षामा अध्ययनको लागि जामुनाखर्क माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् ।

उनको पारिवारीक अबस्था कमजोर र अध्ययन गर्ने वातावरण समेत नभएको जानकारी सहितको पत्रलाई वडा अध्यक्ष कृष्णबहादुर बानियाँलाइ हस्तान्तरण गरि आबश्यक पहल गर्न अनुरोध गरिएको प्रअ ढुंगानाले बताए । ‘उनलाई विद्यालयमा नियमित गराउन हामीले पनि पहल थालेका छौँ, तर घरायसी वातावरण नै मिलाउनुपर्ने भएकाले जनप्रतिनिधि मार्फत नै थप पहल होस भनेर जानकारी गराएका छौँ ’ प्रअ ढुंगानाले भने ।

बेनपा ६ का अध्यक्ष कृष्णवहादुर बानियाँले वडाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिसकिएको बताउँदै खत्रीको विद्यालय नआउने समस्या आर्थिक र पारिवारीक वातावरणसंग जोडिएकाले त्यसतर्फ आबश्यक वातावरण मिलाउने पहल भैरहेको जानकारी दिए ।संचारमाध्यमहरुमा पूजाको अवस्थाका वारेमा समाचार प्रकाशन÷प्रशारण भएपछि पूजालाई सहयोग गर्नेहरु धेरै देखिएका छन् ।

अव आर्थिकका कारण पूजा पढाईबाट वंचित हुनुपर्ने अवस्थाको त अन्त्य भएको छ तर उनको पारिवारिक वातावरणलाई सहज बनाउन र अन्य बालबालिकाहरुले पूजाको जस्तो नियति भोग्न नपरोस् भन्ने कुरातर्फ सजग हुन सरोकारवाला पक्षहरुलाई निकै ठूलो चुनौति पनि थपिएको छ ।तत्कालका लागि समस्या समाधान भएपनि उनको बाल मस्तिष्कमा आफ्नो विगत कालो छायाँ बनेर रहिरहने निश्चित छ । पूजा पारिवारिक समस्याका कारण पनि विछिप्त बनेकी छन् ।

आमा—बाबाको मायाबाट वन्चित भएकी पूजा र उनका अरु भाइ बहिनीहरुमा मानसिक विचलन पनि नआउन भन्न सकिदैन त्यसतर्फ पनि सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।सबैभन्दा ठूलो समस्या उनको पारिवारिक व्यवस्थापनको रहेको छ । पारिवारिक उत्तरदायित्वबाट पन्छिन खोजेका पूजाका बुबा र आमालाई कसले÷कसरी सम्झाउने र उनीहरुलाई आफ्नो जिम्मेवारीको बोध गराइ परिवारमा मेलमिलापको वातावरण कायम गर्ने यसतर्फ पनि सरोकारवालाहरुले सोच्नु पर्ने देखिन्छ ।