लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टले प्रथम लायन्सको हात पारेको हो ।

बेनी सामुदायिकका एक खेलाडीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो भने न्यू वेष्ट पोइन्टका खेलाडीको सबै प्रहार सफल भयो । प्रतियोगिताको फाइनलमा दुबै पक्षले निर्धारित समयमा केही मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । ९० मिनेटमै नतिजा आफ्नो पक्षमा पार्न दुबै विद्यालयका खेलाडीले खेलमैदानमै रणनीति परिवर्तन गरेका थिए ।

विजेता वेष्ट पोइन्टका सुरुवात देखि नै उत्कृष्ट लयमा देखिएको थियो भने उपविजेता बेनी सामुदायिकको समेत टिमवर्क र एट्याकिङमा निकै राम्रो भएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । विजेता र उपविजेताको डिफेन्डर,मिडफिल्डर सहितको पोजिसन राम्रो थियो ।

प्रतियोगिताको बिजेतालाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, बेनी नगरपालिकाका मेयर सुरत केसीले बिजेता र उपविजेतालाई क्रमश ३५ हजार,उपविजेता २० हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरेका थिए। अनु्शासित टिम धौलागिरी मावि सिंगा ट्रफी,५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सज्जा पुन, उत्कृष्ट गोलरक्षक विपना बिक,उत्कृष्ट मिडफिल्डर रिया पुन, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल र निसा तुलाचन तथा बेनी सामुदायिककी मोनिका किसान, उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर सञ्चिता गुरुङ, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर वेष्ट प्वाइन्टकी समृद्धि घर्तीलाई नगद सहित पुरस्कृत गरिएको छ ।

प्रतियोगिताले विद्यालयस्तरमा रहेका छात्राको फुटबल प्रतिभाको पहिचान तथा आगामी दिनमा हुने प्रदेशस्तरीय खेलमा समेत सहभागिताका लागि आवश्यक तालिम सहितका योजनामा सघाउने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताए । उनले प्रथम लायन्स कपको सफलतासँगै खेलाडीको प्रोत्साहन सहित दोस्रो कप थप एतिहाँसिक सफल बनाउने गरी लाग्ने बताए । प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता रहेको थियो ।

Leave a Reply