कृष्ण जिसी
मंसिरको आधाआधी भैसकेको छ । असोज लागेपछि चिसो बढीहानेल् यहाँ मंसिरमा त खपी नसक्नु चिसो छ । हिउँदको कठ्यांग्रिने चिसो बिहानीमा चराचुरुंगी र भाले भन्दा पहिल्यै उठिसक्छन् उनीहरु । झ्याल र दैलोको चरबाट सियोले घोचे झैँ घोच्ने चिसो सिरेठोको पर्वाह छैन उनीहरुलाई ।
लोग्नेमानिसहरू सिल्टिमुर हालेको तातो चिया सुरुप सुरुप पार्दै कम्मरमा खुरपेटो, खुरपेटोमा आँसी (हँसिया) हालेर काँधमा बन्चरो र नाम्लो लिएर गाउँ भन्दा माथितिर रहेको जंगलतिर उकालो लागि हाछन । आइमाई र केटाकेटीहरु पनि डोको नाम्लो बोकेर खर्क तिर हुइंकिन्छन । कसैलाई एकैछिन उभिएर बोल्ने फुर्सद छैन । बिहानदेखि साँझ सम्म जंगल र पाखाभरी गाउँलेका सुसेली र कल्यांग कुलुंगका आवाज सुनिन्छन् ।
बिहानको ११÷१२ बजे तिर फेरी काठपात बोकेर गाउँ झार्छन भने कसैले पल्लो खर्कबाट सुकेको खर र कोदोको नलका भारी बोकेर फर्कीई रहेका हुन्छन् । हतार हतार गास टिपेर फेरी हतार हतार हानिन्छन खर्कतिर गोठ बनाउन र खर्कमा रहेको खर, नल पराल स्याहार्न । त्यसो त गाउँले जीवन यस्तै हतारोमा हुन्छ उनीहरु फुर्सदिला हुँदैनन् भनिन्छ लेकालीलाई कहिल्यै फुर्सद हुँदैन । झनै मंसिरको १५ सम्ममा त उनीहरुलाई सास फेर्ने फुर्सद पनि छेन ।
मंसिरको १५ गते गोठसार्ने दिन भएकोले म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलांगका कृषकहरुलाई भ्याई नभ्याई छ । आनन्दले बसेर खाने फुर्सद पनि छैन भने बसेर कसैसंग गफिने त परे जावोस । नेपाली समाजमा आफ्नै खालका सामाजिक संरचना र जीवन यापनका तौर तरिका हुने गर्दछन । लुलांग गाउँको पनि आफ्नै सामाजिक संरचना र अझै भन्नुपर्दा यसलाई सामाजिक नियम रहेको छ भन्न मिल्दछ ।
गुर्जा हिमालको केहि मुन्तिर गुर्जागाउँको छिमेकी गाउँ हो लुलांग । करिव डेढ सय घरधुरी रहेको यो गाउँ पुर्वतिर फर्किएको पाहारिलो गाउँ हो। यो गाउँ समुद्री सतहबाट २४ सय मिटरको उचाइमा रहेकोले हिउंदमा अति नै चिसो हुने गर्दछ । हिउंदमा बाख्लै हिउँ समेत पर्छ । अहिले पनि एकसरो लुगामा बस्नै सकिन्न । गाउँलेहरु बिगत दुइबर्ष भनेजति हिउँ परेन यस्पाली त पर्छ कि भनेर आशाबादी छन् । किनकि हिउँ पर्यो भने उवा र जौ फस्टाउँछ ।
लुलांग गाउँ बाख्लो छ । नेपालका अधिकांश पहाडी गाउँहरु घरबस्तीको दृष्टिले एकै ठाउँमा गुजुमुच्च परेका यस्तै हुन्छन । लुलांग गाउँपनि त्यस्तै छ । उनीहरुको खेतबारी भने बस्ति भन्दा टाढा हुने गर्दछ । त्यसैले उनीहरुलाई घर गोठ गर्नुपर्ने हुन्छ । हिउंदमा गोठ बर्खामा घर, घरगोठ सारीरहनु पर्ने ।
लुलांगीहरु भने आफु खुसि गोठसार्न नपाउने रहेछन् गोठसार्दा एकैपटक अर्थात् एकै दिन सबैले सार्ने गर्नुपर्ने रहेछ । शुरुमा सुन्दा त मलाइ पनि अनौठो लाग्यो तर धौलागिरी गाउँपालिका वडा नं २ का अध्यक्ष अक बहादुर बिकले यस बारेमा प्रस्ट्याए पछि मलाइ बास्तविकता थाहा भयो । उहाँका अनुसार गाउँका सबैको बारी एकैठाउमा रहेछ ।
बर्खा याममा लगाएको बाली, कोदो, भट्ट स्याहारेर, खर काटेर सकेपछि मात्रै गोठ सारिन्छ । सबैको जग्गा बराबर छैन, कसैको धेरै छ कसैको थोरै छ । धेरै हुनेले खेति स्याहार्न ढिलाई भएमा चांडो स्याहार्नेले गोठ सारिदिएमा गाइबस्तुले खेतीबाली खाएर नोक्सान गर्ने सक्छन । त्यसैले सबैले सकेपछी गाउँको नियम अनुसार तोकेको दिनमा नै सार्नुपर्ने हुन्छ । त्यति मात्र हैन यदि कसैको खेति बाली स्याहार्न ढिला भएमा वा खेताला नपाएमा सबैले मिलेर सघाईदिने गज्जवको परम्परा पनि रहेछ । मलाइ यो अभ्यास अत्यन्तै सुन्दर लाग्यो ।
गोठसार्न भन्दा पहिला बन फुकाउने चलन रहेछ । गाउँलेले संरक्षण गरेको बनमा जुनबेला चाह्यो त्योबेला प्रवेश गर्न पाइदो रहेनछ । घाँस दाउरा फुकाउँदा (बन फुकाउँदा) मात्रै जान पाइने नियम जसलाई सबै गाउँलेले मानेका छन् ।
File photo
गोठ सार्नुभन्दा पहिला बन फुकाउँदा गोठको लागी आवश्यक पर्ने लागी दारपात (खाँवा, भराइना, डांडा भाटा) काट्न पाइने रहेछ । यसरी हरेक वर्ष दारपातको लागि काठ काट्दा जंगल बिनास हुदैन र ? भनेर सोध्दा वडाध्यक्ष बिकले अहिलेसम्म गाउँलेले इमान्दारिता देखाउने गरेको र अघिल्लो वर्ष काटिएका वा पहिलाका दारपात कामलाग्ने भएसम्म त्यसैले काम चलाउने र आवश्यक परेको मात्रै काट्ने गरेको बताउनुभयो ।
गोठ सारेपछि दिनको समयमा बारी र खरबारीमा स्वतन्त्र रुपले गाईबस्तु छोड्न मिल्ने रहेछ । यसो गर्दा गाईबस्तुको मल मुत्रले जग्गा जमिन मलिलो हुने गाउँलेले बताउछन । उनीहरु भन्छन “गाइबस्तुले खुरले बारी कुल्चँदा मात्रै पनि मलिलो हुन्छ । “ कस्तो गज्जव र प्राकृतिक कुरा यसैले त गाईबस्तु जल, जमिन र मनिसविचको सम्बन्धलाइ जीवन्त बनाएको छ ।
गाउँले जीवन कस्तो लाग्छ ? भनेर सोध्दा उनीहरु खुसि रहेको बताउछन् । लुलांग भन्दा माथि एउटा गाउँ छ त्यो हो गुर्जा गाउँ । पैदल हिंडेर एक दिनमा पुगिने त्यो गाउँ र लुलांग गाउँ बिचमा माइती कुटुम्बको सम्बन्ध पनि रहेको छ ।
बिहेबारी गर्ने र गुर्जाबाट माध्यमिक तह पढ्नको लागि कोहि लम्सुंग (लुलांग भन्दा तलको गाउँमा) समेत आउने रहेछन । जन्मठाउँ कसलाई प्यारो लाग्दैन र ? कसै कसैले त गाउँ छोडेर अन्यत्र बसाइ सरेका रहेका छन् घर हरु ताल्चा मारेका पनि भेटिन्छन तर चाडबाड मनाउन भने आफ्नै थात थलो फर्कन्छन ।
File photo
गाउँमा बेलाबेलामा सहयोग समेत गर्ने गरेको रतिमया बिकले बताउनुभयो । अहिले त मोटर बाटो पुगेपछि गाउँलेहरु खुसिछन् । गुर्जा बासीलाई पनि लुलांगबाट घोडा खच्चडमा त कसैले बोकेर सामान ल्याउन लैजान सहज भएको छ । लुलांग भन्दा माथि देउराली सम्म सडक पुगेको छ र खन्ने काम जारी छ । “गुर्जासम्म मोटर बाटो पुग्यो भने जसरी हामी लुलांगबासी रमाएका छौं त्यसैगरी गुर्जाबासी पनि रमाउलान नि” बिकले भन्नुभयो ।
अहिले गाउँमा धमाधम विद्युतको केन्द्रीय लाइनको तार टाँग्ने काम समेत चलिरहेको छ । अव छिट्टै नै केन्द्रीय लाइनको बत्ती बाल्न नपाउने कुरामा उनीहरु बिश्वस्त छन् । केन्द्रीय लाइन नहुँदासम्म अहिले लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाबाट बिद्युत उत्पादन गरेर बत्ति बालिएको छ ।
मोटर पुग्यो, विद्युतीकरण भैरहेको छ, सरकारी मापदण्डका राम्रा विद्यालय भवन बनेका छन्, स्व्यास्थ्य चौकी बनेका छन्, पूर्वाधार निर्माण सगै जीवन सजिलो हुँदै गएको छ । “पहिला ४ घर मात्रै ढुंगाका थिए अहिले सबै घर ढुंगाका भए । हेर्दाहेर्दै गाउँ फेरिएको छ । तुसारो र हिउँमा पटपटी कुर्कुच्चा फुटाउँदै गुर्जा र जलजला हुँदै ढोरपाटन पुगेर आलुको बिउ ओसार्न अब पर्दैन होला । “ नुनबटौली गरेका ७९ वर्षीय भक्त बहादुर विश्वकर्माले बताउनुभयो ।
धेरै कुरा फेरिएको छ । पहिला भन्दा अहिले सबै कुराले जीवन सहज भएको छ । छिट्फुट झैझगडा र अलिअलि कचिंगल त हुने नै भयो तर अहिले सामाजिक सचेतना र शैक्षिक स्तर माथि उठेको छ, समाज बदलिएकोे छ अब लुलाङ दुर्गम लाग्न छोडेको छ ।
जीवन आफ्नै गतिमा चलेको छ लुलांगीहरुको । खोरिय मरेनी पातालसम्म कोरिएका सडकका धर्सा लट्ठीले देखाउदै भक्तबहादुरले आफ्नो भाग्य रेखा तिनै भएको बताउनु हुन्छ । भाविले निधारमा लेखेको देखिन्न तर समयले ल्याएका सडकका धर्साले गाउँलेको भाग्य फेरिएको बताउनु भयो ।
हिउँपर्न कम हुँदै गयो, हिमालका हिउँ पग्लिएर सकिएजस्तै आफुपनि कुन दिन सकिने हो थाहा छैन । पिढी कुरेर बस्ने हालतमा आफु पुगेको तर मुस्किलका दिन फेरिएर सजिला दिन आएकोमा उहाँ मात्रै हैन धेरै लुलांगी खुसि छन् ।
गाउँमा आफ्ना मूल्य र मान्यता सामाजिक संरचना भित्र रहेर तिनलाई जोगाएर प्रकृति र मानवबिचको सम्बन्ध, खेतीपाती, घरगोठ, मेलाÐपर्व दिनचर्या चलेकै छन् । सदरमुकामबाट टाढाको बस्ति भनेर मानिएपनि लुलांगबासी आफ्नो दिनचर्यामा रमाइरहेका छन् भन्छन “माटो हाम्रो हो, हामी माटोको हौँ, जीवन रहेसम्म माटोले हामीलाई बचाउँछ र हामीले माटोलाई” ।