१२औं राष्ट्रिय कृषक दिवसको अवसरमा म्याग्दीका चारजना उत्कृष्ट किसानहरु सम्मानित भएका छन् । कृषि र पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै उत्कृष्ट चारजना किसान छनोट गरी सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा कृषि विधातर्फ दुईजना र पशुपालनतर्फ दुईजना किसानहरु रहेका छन् । कृषितर्फ बेनी नगरपालिका–१, रत्नेचौरका दल गिरी पुन र मंगला गाउँपालिका–१, पूर्णगाउँका ठहरबहादुर केसी तथा पशुपालनतर्फ बेनी नगरपालिका–४, डाँडाखेतका महेन्द्र बानियाँ र बेनी–६, बाँसबोटका दुर्गाप्रसाद पौडेल रहनुभएको छ । उहाँहरु सबैलाई जनही १०÷१० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
उत्कृष्ट किसानहरुलाई कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत रेग्मी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई म्याग्दीका कृषि अधिकृत बिक्रम बस्यालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत सञ्चालित जिल्लास्तरीय उत्कृष्ट कृषि पुरस्कार कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट कृषक छनौट गरी सम्मान गरिएको केन्द्र प्रमुख बास्तोलाले जानकारी दिनुभयो । राष्ट्रिय कृषक दिवसको अवसरमा उत्कृष्ट कृषकको रुपमा आफूहरु सम्मानित हुन पाएकोमा किसानहरु खुसीले दङ्ग परेका छन् ।
पुरस्कार ग्रहणपछि बोल्दै उत्कृष्ट किसान दुर्गाप्रसाद पौडेलले दुईवटा भैंसीबाट आफूले व्यवसाय सुरु गरेकोमा अहिले ३२ वटा भैंसी पु¥याउन सफल बनेको अनुभव सुनाउनुभयो । अर्का उत्कृष्ट किसान ठहरबहादुर केसीले विगतमा रोजगारी खोज्दै विदेश पुगेको भए पनि अहिले फर्किएर व्यावसायिक कृषि खेती गरेपछि मासिक एकलाख रुपैयाँ कमाई भएको अनुभव सुनाउँदै पैसा कमाउनकै लागि विदेश जानुनपर्ने बताउनुभयो ।
वि.सं. २०७० सालदेखि मनाउन सुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधार गर्नको लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गतेको दिन राष्ट्रिय कृषक दिवस मनाउने गरिन्छ । नेपाल कृषिप्रधान देश भए पनि आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था रहेको छ ।
दैनिकजसो युवा जनशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिनहरु बाँझै रहन थालेका छन्  । किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच कम, कृषि प्राविधिकहरु पर्याप्त नहुनु, उत्पादन भएको कृषि उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्याहरु भोग्दै आइरहेका छन् ।

Leave a Reply