म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो ।

बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवाल,चित्र कृषि तथा पशुपंक्षी फर्म राम्चेका सञ्चालन चित्र बहादुर गर्बुजा, ब्यवसायिक तरकारी उत्पादक हिस्तानकी टिका पाई जा तिलिजा, करबाकेली जडिबुटी तथा फलफुल नर्सरी उद्यमका सञ्चालक बेग बहादुर पूर्जा रहेका छन् । त्यसैगरी पाईजा पशुपालन तथा कृषि फार्म राम्चेका तुलबहादुर पाईजालाईक्रमश ३५ हजार ८ सय नगद पुरस्कारसहित कदरपत्रले सम्मानित गरिएको हो ।

सोही अवसरमा नारच्याङमा करिब ६० रोपनी जमिनमा रैनाने बाली प्रर्बधन कार्यक्रममा सक्रिय जागरुक महिला कृषि समुहलाई नगद २० हजार सहित कदरपत्रले सम्मान गरिएको गाउँपालिकाकी कृषि अधिकृत कृति आचार्यले जानकारी दिइन् ।

सम्मानित हुने कृषक र समुहलाई गाउँपालिका अध्यक्ष भरतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले सम्मान गरेका थिए ।सम्मानित हुने कृषकमा तरकारी, किबी लगायत फलफुल खेतीको व्यावसायिक उत्पादन गदैं आइरहेका छन् ।गाउँपालिका भित्र रहेका किसानलाई उत्पादन र बिक्री वितरणमा प्रोत्साहन गर्ने गरी नगद सहित सम्मान तथा अनुदान, बिक्रीका लागि सहजीकरण लगायतका कार्यमा सघाइरहेको अध्यक्ष पुनको भनाई छ ।

आगामी आवमा कृषि क्षेत्रमा सक्रिय रहेका कृषकलाई लक्षित गरी कृषि एम्बुलेन्स, अलपत्र र प्रयोगविहिन अवस्थामा रहेका संकलन केन्द्रको प्रयोगसँगै युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालनमा प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीको भनाई छ । गाउँपालिकाले ब्यवसायिक कृषिमा सक्रिय रहेका कृषकलाई सार्वजनिक सूचना जारी गरी आवेदन मागेर स्थलगत रुपमा अनुगमन गरी छनौट गरेको कृषि शाखाले जनाएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गापाको कृषि, पर्यटन र जलविद्युत प्रमुख आम्दानीको स्रोत हो ।

Leave a Reply