म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको म्याग्दी जिल्ला प्रदेश ‘ख’ स्तरीय मावि तह छात्र भलिबल प्रतियोगिताको उपाधी किसानी मावि बिमले हात पारेको छ ।

शनिबार क्याम्पसको प्रांगणमा सम्पन्न भएको खेलमा मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविले मंगला गाउँपालिका–५ अर्मनस्थित शिशुकल्याण माविलाई सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताका प्रथम, द्धितियलाई क्रमश २५ हजार र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

‘स्वस्थ विद्यार्थीका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी किसानी माविका सुनिल थापा, बेष्ट सेटर किसानी माविकै अनिल थापा, स्पकाइकर शिशुकल्याण माविका सफल विक र बेष्ट ब्लकर किसानी माविका कृष्ण विक रहेको स्ववियू सचिव रविन शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, महासचिव कुमार किसानले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका ९ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटनको प्रमुख अतिथि मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम थापाले गर्नुभएको थियो ।

म्याग्दीको प्रदेश ख अन्तरगतका विद्यालयमा रहेको भलिबल खेलको प्रतिभाको उजागर तथा विद्यार्थीसँगको सहकार्यका लागि प्रतियोगिताको आयोजना गरिएको सभापति भिममायाँ रोकाले बताउनुभयो । मंगला शिक्षा क्याम्पस स्ववियूले क्याम्पस प्रांगणमा बृक्षारोपण, क्षमता विकास तालिम सहित विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Reply