गण्डकी प्रदेशको पोखरामा दुई दिनसम्म ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २१ देखि २२ गतेसम्म पोखरामा मेला गर्ने भएको हो ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गरी आयोजना गरिएको मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ ।

पहिलोपटक गण्डकी प्रदेशमा हुने लागेको मेलामा कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु हुने भएकाले मेलालाई सदुपयोग गर्ने मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले अनुरोध गरेका छन् ।

पोखरामा हुने मेलामा गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लाबाट यूवाहरुलाई सहभागिताका लागि समेत तयारी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले श्रमाधान रोजगार मेलामा यूवाका लागि अवसर हुने भएकाले सहभागि हुनुपर्ने बताए ।

‘रोजगारीको बाटो खोज्न, अवसरलाई सदुपयोग गर्न समेत मेला कोशेढुंगा सावित हुनेछ’ अध्यक्ष श्रेष्ठले भने। उनका अनुसार स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिने भएकाले म्याग्दीबाट समेत यूवाहरुलाई मेलाका बारेमा विभिन्न स्थानीय तहसँग समन्वय गरी पठाउने अध्यक्ष श्रेष्ठको भनाई छ ।

मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।

Leave a Reply