कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।

‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन्।’

लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न थालेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उनले बताए।

‘हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ’, गुरुङले भने।

उनका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य सात हजारदेखि आठ हजारसम्म पर्दछ।

गुलेली र डेढ वर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युट्युबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ वर्षीय गुरुङले भनिन्,‘अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाढैबाट भाग्दछ। यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रूखैभरि बाँदर हुन्थ्यो। अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएका छैनन्।’

विदेश जान मन नलागेपछि परिवारसँगै बसेर कृषि कर्म गर्दै आएका गुरुङले बन्दुक मात्र हैन हाते ट्र्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आएकी छन्।

‘बारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो। यस वर्ष भने बन्दुक पड्काएपछि बारीमा लगाएको काँक्रो राम्रो उत्पादन दिएको छ’, स्थानीय रामकुमारी गुरुङले भनिन्। उत्पादित काँक्रो आफूले खाएर बचेको बिक्री गर्दा १६ हजार आम्दानी भएको उनले जानकारी दिइन्।

रामकुमारीले भनिन्, ‘विगतमा काँक्रा किनेर खानुपर्ने अवस्था थियो, गिरेन्द्रले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ।’

उनको बारीमा यतिखेर काँक्रासहित खुर्सानी, बोडी, घिरौँला, करेलालगायत लहरे बाली फस्टाएकी छिन्।

मादी–१२ का वडासदस्य मिलन ढकालले बाँदरले किसानलाई निकै सास्ती दिएकाले गुरुङले आविष्कार गरेको बन्दुकको परीक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच बनाइएको बताइन्। उनले भनिन्, ‘बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ।’

मुलुकभरि बाँदर आतङ्क बढेर किसानलाई सास्ती दिइरहेको वर्तमान अवस्थामा गुच्चाको गोली सहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दालाई खेती सुरक्षामा सहज भएको छ।

Leave a Reply