गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका–४ सिंगा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चार सय जना सर्वसाधारणले सुविधा लिएका छन् ।

मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको सिंगा उपशाखाको आयोजनामा आयोजिति उक्त शिविरमा चार सय ५७ जनाले सेवा लिएको दर्शन फाउण्डेसनका पितम बहादुर सेनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –अलिक बढी जोखिम रहने महिलाको स्वस्थ्यलाई मुख्य रुपमा महत्व दिँदै आयोजना गरिएको शिविरमा ९२ जना महिलाहरुले स्त्री रोग सम्बन्धी सेवा लिनु भएको छ ।

त्यसैगरी हाडजोर्नी तथा नसा रोग, मुटु, सुगर लगायतका रोगको पनि सेवा आफ्नै ठाउँमा पाउँदा स्थानीयहरु उत्साहीत भएको उहाँको भनाई छ । दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा विशेषज्ञ डाक्टरहरुले निःशुल्क रुपमा सेवा दिनु भएको थियो ।

सामाजिक क्षेत्रमा काम गर्दै आइ रहेको दर्शन फाउण्डेशनले सिंगामा गरेको स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेको छ । स्त्री तथा प्रसूती रोग सम्बन्धी विशेषज्ञ सेवाका साथै जनरल तथा ल्याप्रोस्कोपीक सेवा पनि शिविरमा सिंगाबाटै पाएको धवलागिरी माध्यामिक विद्यालयका शिक्षक डण्डपाणी पौडेलले जानकारी दिनुभयो ।

हाड, जोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सेवा तथा मधुमेह, रगतमा हुने खराब बोसो, युरिक एसिड सम्बन्धी रक्त एवं पिसाब परीक्षण समेत सिंगामै गर्नुका साथै परिक्षण गरिएका बिरामीहरुलाइ आवश्कय सबैजसो औषधि निःशुल्क वितरण गरिएको थियो ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना भएको शिविरमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पेट छाती तथा मुटुरोग बिशेषज्ञ डा.कृष्णराज अधिकारी, वरिष्ठ हाड, जोर्नी, नशा तथा बाथ रोग डा.सरोजचन्द्र दाहाल, जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा.विराट शर्मा, मेडिकल अफिसर डा.राज गुरुङले सेवा दिनुभएको थियो । बेनी अस्पतालकी निमित्त मेडीकल सुपरीटेण्डेन्ट स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा अन्जु थापा, मेडिकल अफिसर डा रामु सापकोटालगायतको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो ।

Leave a Reply