म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङ खबाङमा भीर महको दृष्य लिन नेशनल जियोग्राफीको टोली सहित स्पेन र जर्मनी पर्यटक गरी १६ जना विदेशी पर्यटक पुगेका छन् ।

आङ सिरिङ्ग हुने हिमाल जस्तै अग्लो कहालीलाग्दो पहरामा भीर मह निकालिरहेको दृष्यको अवलोकनसँगै प्रचारप्रसार गर्न विदेशी टोली पुगेको वडा अध्यक्ष अकप्रसाद विकले बताए । ‘भीर महको दृष्य खिच्न विदेशी नै आउन थालेका छन्, यहाँको प्रचारप्रसारले पर्यटन प्रर्बधनमा समेत सघाउँछ’ वडा अध्यक्ष विकले भने ।

Adv

हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्ने मह शिकारीको अनुभवसँगै स्थानीयबासी र गाउँपालिकाको टोलीसँग समेत छलफल गरेका वडा अध्यक्ष विकको भनाई छ ।

लुलाङका स्थानीयवासी थम बहादुर सिर्पालीको समन्वयमा आएको विदेशीले धवलागिरी गाउँपालिका उपाध्यक्ष रेसम पुन मगरसँग समेत भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनिकरणका बारेमा विदेशीले चासो देखाएका थिए ।

भिर मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्छ ।

झण्डै ५ सयदेखि १५ सय मिटरको उचाईका पहरामा पुगेर गाउँका मोतिप्रसाद सहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरीलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँको रुपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताउँछन् ।

ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने उनको भनाई छ । “पर्यटन प्रवद्र्धनमा यो टोलीबाट धेरै सहयोगको आश्वानस आएको छ, हामीले पनि अवका दिनमा मह शिकारलाई बिशेष बनाउनेछौ’ उपाध्यक्ष पुनले भने । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्छन ।

अहिले समग्र विश्व नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको अवस्थामा नेशनल जियोग्राफीले भीर मौरीका बारेमा समेत चासो देखाएका थिए ।

म्याग्दीमा लुलाङ बाहेक गूर्जा, कुइनेमंगले,चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ।
तस्वीर सौजन्य तेजेन्द्र मगर

Leave a Reply