default

म्याग्दीको सदरमुकाम बेनीबजारमा सडककै बालबालिका खेल्ने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडिफाई) ध्वनी आतंक मच्चाउँदै हिड्दा दुघर्टनाको जोखिम बढेको छ । केहीदिन अगाडी सडकमै फुटबल खेल्दा एक शिक्षक घाईते भएपनि विहान, बेलुकी र सार्वजनिक विदाको समयमा दिउँसोमा समेत सडकमै खेल्ने, पदैलयात्राको क्रममा सावधानी नअपाउने र तिब्र गतिका मोटरसाइकलले दुर्घटनाको जोखिम बढेको स्थानीयबासी बताउँछन् ।

बेनीबजारमा क्रसफायर लगायतका मोटरसाइकल मोडिफाई गरी चर्काे आवाज आउने गरी पड्काउँदै हिड्ने गरेका यूवाहरुलाई समेत जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट कारवाहीको चेतावनी दिने गरिएपनि आंतक रोकिएको छैन ।

Adv

स्वरुप परिवर्तन गरी अत्याधिक मात्रामा ध्वनी प्रदुषण गरी सवारी साधन चलाउने गरेको जनगुनासोको आधारमा अघिल्लो साता समापन भएको ट्राफिक सप्ताहमा सरोकारवालाहरुलाई सडकमा खेल्ने र सवारीसाधनका कारण हुने आंतक नियन्त्रणमा सघाउने अनुरोध समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले बताए ।

उनले सर्वसाधारणबाट समेत गुनासो आएकालाई नियन्त्रणमा लिएर जरिवाना गरिएको र सडकमै खेल्ने बालबालिकालाई रोक्न सार्वजनिक सूचनाबाट समेत अभिभावकलाई सचेत बनाइएको बताए । उनले जिल्लाभित्र सञ्चालित वर्कसपमा समेत स्वरुप परिवर्तन गरी (मोडिफाई) नगरिदिन निर्देशन समेत दिएको बताए ।

मोडिफाई गर्ने वर्कसप र चालकलाई कारवाही गर्ने चेतावनी दिइएपनि रोकिएको छैन । बेनी नगरपालिकाका मेयर सुरत केसीले सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटना निम्तिन सक्ने अवस्थालाई मध्यनजर गरी नगरबाट छाडा पशुचौपायाको ब्यवस्थापन गरिएको र अतिक्रमित सार्वजनिक स्थानबाट समेत संरचना हटाउने लगायतका कार्यहरूलाई प्राथमिकता दिएको भएपनि स्वरुप परिवर्तन गरी (मोडिफाई) र विद्यालय समयमा सवारीसाधन बजारभित्र प्रवेशमा कडाई नहुदाँ गुनासो बढेको बताए ।

Leave a Reply