केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । डाक्टर पुन मगरले पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । उक्त कम्प्युटर आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच डा.पुन मगरले वडा अध्यक्ष तिलकबहादुर जिसी र समाजसेवी युवराज अर्मजाको उपस्थितीमा विद्यालय प्रअ राजकुमारी पुन ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर पुन लगायतलाई हस्तान्तरण गर्नुभयो ।

कम्प्युटर सँगै शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । बीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका पुर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँच सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो । विद्यार्थीलाई सुचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्धेश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

डा.पुनका दिवंगत बुबा धर्मराज पुनको पहलमा वि.सं.२०१८ सालमा गिद्धेश्वर विद्यालय स्थापना भएको थियो । संस्थापक धर्मराजले केही समय सोही विद्यालयमा पढाउनुभएको थियो । ‘बुबाले दुर्गम गाउँमा विद्यालय स्थापना गरेर औपचारिक शिक्षाको प्रारम्भ गर्नमा ठुलो योगदान पु¥याउनुभयो । साथै उहाँले यहि विद्यालयको काम गर्ने क्रममा एउटा आँखा पनि गुमाउनुभयो,’भावुक हुँदै डा.पुनले दिवंगत बुबालाई सम्झनुभयो । चितवन स्थित भरतपुरमा बस्दै आउनुभएका डा.पुनले दिवंगत बुबा धर्मराज र आमा घनिसराको सम्झनामा एक लाख बीस हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

वडा अध्यक्ष जिसी,समाजसेवी एवं गाउँपालिका अध्यक्ष राजु आचार्यका स्वकीय सचिव अर्मजाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र भौतिक पुर्वाधार विकासका लागि आफुहरुले पहल सँगै सहयोग गर्ने बताउनुभयो । कुवापानी ,लोप्रे गाउँ लगायत स्थानीयबासीले डा.पुनलाई सम्मान गरेका थिए । विद्यालय प्रअ पुनले कम्प्युटर सहयोगप्रति डा.पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पठनपाठनमा उत्कृष्ट भएपनि बसाइँसराइको कारण विद्यार्थी संख्या घट्दै गएको बताउनुभयो ।
विद्यालयमा पुख्र्यौली संस्कार सस्कृती संरक्षण गर्ने उद्धेश्यले सोरठी नाच समेत सिकाइदै आइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुन, समाज सुधार आमा समुह अध्यक्ष कममाया पाइजा , टोल सुधार समितिका पुर्व अध्यक्ष दुतबहादुर शेरपुजा ,सरसफाई समिति अध्यक्ष सुवेदार कृष्णबहादुर पुन ,टोल सुधार समिति अध्यक्ष तिर्खबहादुर पाइजा लगायतले बोल्नुभएको थियो ।

पाँच कक्षा सम्म पढाई हुने विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुई जना दरबन्दीका र दुईजना निजी स्रोतका शिक्षक अध्यापनरत हुनुहुन्छ । विद्यालय प्रअ पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षिका तिलकुमारी रोकाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गिद्धेश्वर आधारभुत विद्यालयका विद्यार्थीले सोरठी नाच प्रस्तुत गरेका थिए । भने सोही विद्यालयका शिक्षक,मालिका आधारभुत विद्यालयका विद्यार्थी , लोप्रेको धौलागिरी आमा समुहले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply