म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्। उनले बाँसको चोया र काठ प्रयोग गरी बनाइएमा भर्याङ (पराङ)मा डेढ घण्टासम्म झुन्डिएर मह काढ्छन्।
विगत ३५ वर्षदेखि निरन्तर म्याग्दीका अधिकांश अग्ला भिरपहरामा मौरीको घार खोज्दै हिँड्ने गरेका मोतीप्रसादले तुर्लुंग डोरी झुन्डिएर मह निकाल्ने र बिक्री गर्ने कामलाई आफ्नो पुर्ख्याैली पेसा र परम्परा ठान्छन्। आङ सिरिंग हुने कहालीलाग्दा पहरामा एक्लै पुग्ने मोतीप्रसादलाई सहयोग गर्ने करिब १० जनाको टोली छ। उनले हरेक वर्ष सिजनमा म्याग्दी र छिमेकी जिल्लाका भिरहरूमा पुगेर मह सिकार गर्छन्। करिब तीन सयदेखि सात सय मिटर अग्लो भिरमा जोखिम मोलेर मह निकाल्ने गरेका मोतीप्रसादले यसै वर्ष कास्कीमा समेत असम्भव मानिएको भिरमा घण्टाको ५ हजार ज्याला लिएर मह निकाल्न गएका थिए।
अक्करे भिरमा जोखिम मोलेर गरिने साहसिक मह सिकार गर्दा मोतीप्रसादका धेरै रात जंगलमा बितेका छन्। ‘हत्केलामा राखेर डोरी (परङ)मा झुन्डिएर मौरीको चाका नजिक पुगी मह निकाल्नुपर्छ। धेरैपटक मृत्युको मुखमा पुगेर फर्किएको छु,’ मोतीप्रसादले भने।
२५ वर्षको उमेरमा पहिलोपटक भिरमा जाँदा ज्यानै गएको महसुस भए पनि आजकल बानी भइसकेको मोतीप्रसादको भनाइ छ। भिर मह काढ्दा परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्ने हुनाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन्। सुरुमा हरियो घाँसको धुवाँ मौरी भएको ठाउँसम्म पुर्याइन्छ। धुवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल सिकारी मह काढ्न थालिन्छ। एक समूहले भिरमाथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठुलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्ने मोतीप्रसादको भनाइ छ।
असम्भव धेरै भिरमा पुगेर मह काढ्ने गरेकाले पनि मोतीप्रसादलाई दैनिक भत्ता दिएर समेत बोलाउने गरेका छन्। ‘एउटै भिरबाट एकसय लिटरसम्म मह निकाल्न सकिन्छ। अहिले गाउँमै मह किन्न ग्राहक आउँछन्,’ मोतीप्रसादले भने। अनुभवसँगै आँट, साहस भएको र स्वस्थ भएमात्रै पेसालाई निरन्तरता दिन सकिने उनले बताए।
मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक तीन हजार, मह तान्ने टाउकेलाई १८ सय, मह छान्ने सिपालुलाई १५ सयसम्म दिने गरेका छन्। बजारमा महको प्रतिलिटर दुई हजार पाँच सय रूपैयाँमा बिक्री हुुन्छ। म्याग्दीको भिरमहको बजार अन्तर्राष्ट्रियस्तर सम्म छ। ठुलो भिरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्छ। एक सिजनमा ज्याला, राजस्व, अन्य व्यवस्थापन खर्च कटाएर समूहमा रहेकाले बाँढ्ने गरेका छन्।
पछिल्लो समय वनजंगलमा लागेको डढेलोले समेत भिरमौरीको वासस्थानलाई असर गरेको छ। अग्ला भिरमा डढेलोको धुवाँको मुस्लोका कारण समस्या हुने गरेको अवस्थामा पछिल्ला केही वर्षयता पुनः भिरमा मौरी आएर बसोबास गर्न सहज हुने गरी चाका सोही स्थानमा छाड्ने गरिएको छ। बस्तीबाट धेरै टाढा भिर क्षेत्रमा पछिल्लो समय भिरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिने गरेका छन्।
स्थानीय मह सिकारीले सामुदायिक वनसँग अनुमति लिएर भिर मह खोज्दै जंगलमा गएर एउटा भिरको १० हजार तिर्ने गरेका छन्। पछिल्लो समय स्थानीयलाई भिरमा जाँदा आवश्यक पर्ने सुरक्षाका उपकरणहरूमा ध्यान दिन अनुरोध गरिए पनि समुदायमै खर्च हुने भएकाले राजस्व संकलन नगरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। ‘विदेशी पर्यटकलाई तान्ने गरी प्रचारप्रसार गर्ने योजना छ, भिरमह काढ्ने व्यक्तिको स्वास्थ्य चासो देखाउने गरिएको छ,’ अध्यक्ष पुनले भने।
उनले धवलागिरिलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन आवश्यक तयारी गरिने बताए। उनले भिरमौरीको महत्त्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनुभवीहरूबाट जानकारी तथा संरक्षणका थप योजना समेत बनाएको बताए। आकाशमा उड्ने चरोसमेत बस्न नसक्ने ठाउँमा डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई आकर्षित गर्ने अध्यक्ष पुनको भनाइ छ।
म्याग्दीमा लुलाङबाहेक कुइनेमंगले गुर्जा, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्लेलगायतका स्थानमा भिरमह पाइन्छ। गुलियो र स्वादिलो हुने भिरमह विशेषगरी यौनवर्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधी मानिन्छ। वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ।