म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको आकर्षण बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । उनले आफू वडावासी भएको नाताले पनि आफ्नो वडामा सञ्चालित विद्यालयको चौतर्फी विकास गर्नका लागि आवश्यक पहल गर्ने बताउँदै प्रदेश सरकारमार्फत शैक्षिक क्षेत्रको विकासमा जोड दिइने बताएकी छन् ।

आजका बालबालिका भोलिको देश विकासका लागि कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा हुने लगानी खेर नजाने भएकाले बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक लगानी गर्नुपर्ने प्रदेश सभा सदस्य गौचनको भनाइ छ ।

कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल, म्याग्दी बहमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख श्रीधर सुवेदी, विद्यालयका पूर्व अध्यक्ष नेत्रबहादुर महत, पूर्व सदस्य माधवप्रसाद रेग्मी, चन्दादाता हिमबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ र विद्यालयका शिक्षक सन्तोष सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको समग्र गतिविधि, आर्थिक तथा शैक्षिक अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र सहायक प्रधानाध्यापक गीता सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विव्यस सदस्य रामबहादुर खत्री र विद्यार्थी सृष्टि घर्तीले स्वागत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडानम्बर ८ बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, वडानम्बर ९ घतानका वडाध्यक्ष चक्रबहादुर केसी, विद्यालयका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठसहित अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कलाकार विद्यार्थीहरुले स्वागत गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply